आर्थिक

सिम्रिकद्वारा सदस्यलाई उपचार राहत प्रदान

सिम्रिकद्वारा सदस्यलाई उपचार राहत प्रदान


बिर्तामोड । इलाम जिल्लाको माई नगरपालिकामा समेत कार्यक्षेत्र बिस्तार गरेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीन जना सदस्यहरुलाई हालै सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेतको नेतृत्वमा सम्बन्धित क्षेत्रको सेवा केन्द्रका कर्मचारी तथा सञ्चालहरुले गोलधाप, हल्दिबारी र काँकरभिट्टाका सदस्यहरुहरुलाई उपचार सुविधा प्रदान गरेका हुन् ।

संस्थाले मेचीनगर सेवा केन्द्रका सदस्य, काँकरभिट्टा निवासी कमलकुमारी राईको पत्थरियाको शल्यक्रिया गरिएकोले उपचार सहयोग वापत २० हजार रुपैयाँ प्रदान गरिएको छ ।
संस्थाका विभागीय प्रमुख बस्नेत र मेचीनगर सेवा केन्द्र प्रमुख शान्तकुमार बस्नेतले संयुक्तरुपमा सदस्य राईलाई नगद हस्तान्तरण गरेका हुन् । उपचार सहयोग ग्रहण गरेपछि कमलाले आफ्ना सदस्यहरुलाई सिम्रिक सहकारीले परिवारकै मान्छेजस्तो व्यवहार गरेकोमा आभार प्रकट गरेकी छन् ।

यस्तै, संस्थाको गरामुनी सेवा केन्द्र अन्तरगतका सदस्य शिवकुमार संग्रौलाको एपेण्डिसाइट्सको शल्यक्रिया गरिएकाले उनलाई १९ हजार ६७० रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख बस्नेत र गरामुनी सेवा केन्द्र प्रमुख दिपेश राजवंशीले संग्रौलालाई नगद हस्तान्तरण गरेका हुन् ।
यसरी नै, पित्तथैलीमा पत्थरी भएकाले साउन २४ गते शल्यक्रिया गरिएका संस्थाको गोलधाप सेवा केन्द्रका सदस्य बिमला लिङ्देनलाई पनि राहत हस्तान्तरण गरिएको थियो । संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीले बिमलालाई उपचार सहयोग रकम १५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

गत असार मसान्तसम्म २५ हजार ७९३ जना शेयर सदस्य रहेको सिम्रिक साकोसले सदस्य राहत कार्यक्रम अन्तरगत दुर्घटना बीमा सुविधा, दैवीप्रकोप राहत सुविधा, सदस्य मृत्यु राहत सुविधा र सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गर्ने गरेको छ ।

साधारणसभा अध्ययन गर्न कार्यदल
बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वर्तमान असहज परिस्थितिमा वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । संस्थाको विधानअनुसार यो वर्ष नयाँ नेतृत्व चयन गनुपर्ने हुन्छ ।
कोरोना भाइरस संक्रमणको महामारीले नियमित काम गर्नसमेत असहज बनिरहेको समयमा आर्थिक वर्षको पहिलो ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने ऐनको व्यवस्था कार्यान्वयन गर्न र नयाँ नेतृत्व चयन गर्ने विधि अध्ययन गर्न कार्यदल बनाइएको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष कमलबहादुर बस्नेत, सचिव सुवास भट्टराई र सदस्य लीला मुखिया रहेको कार्यदल गठन गरेको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्न कार्यादेश छ । कार्यदलले काम थालिसकेकाले तोकिएको अवधिभन्दा पहिले प्रतिवेदन पेश गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताएका छन् ।

संस्थाको सञ्चालक समिति ९ सदस्यीय र लेखा सुपरीवेक्षण समिति ३ सदस्यीय हुनेछ । सिम्रिक साकोससँग हालैमात्र दमक ६ को चेतनशील साकोस र इलामको माई नगरपालिका २ दानाबारीस्थित अमृत साकोसबीच एकीकरण गरिएकाले क्षेत्रगत प्रतिनिधित्वका लागि नयाँ नेतृत्व चयनले महत्व पाउने भएको हो ।

कर्मचारीसँग अन्तरक्रिया
कोरोनाको कहरले सर्वत्र तनाव छ । तर पनि मानव समुदायको जीवन बचाउन जीविका चलाउनै पर्ने बाध्यता छ । हरेक व्यवसायिक प्रतिष्ठानमा कोरोना भाइरसको सन्त्रासले पक्कै असर पुर्याएको छ । तर पनि सो प्रतिष्ठानमा आश्रितहरुको जीविकाका लागि लक्ष्य पछ्यानुको विकल्प छैन ।
यस्तै लक्ष्य पहिल्याउन सार्थकता मिलोस् भन्ने उद्देश्यले बिर्तामोडमा मुख्य कार्यालय भएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विगत ९ दिनदेखि आफ्ना कर्मचारीहरुसँग क्रमागत अन्तरक्रिया गरेको छ । इलामको माई नगरपालिका २ दानाबारीस्थित अमृत साकोससँग एकीकरण गरिएपछि कार्यक्षेत्र जिल्ला बाहिर पनि विस्तार भएकाले दैनिक १८ जनाका दरले कर्मचारीहरुसँग अन्तरक्रिया गरिरहेको तालिम विभाग प्रमुख विजय बस्नेतले जनाएका छन् ।

संस्थाका शाखा प्रमुख, खजाञ्ची र कर्जा विभागका सबै कर्मचारीहरु तथा बजार प्रतिनिधिहरुलाई फरक फरक दिन मुख्य कार्यालयमा आमन्त्रण गरी संस्थाले निर्धारण गरेको लक्ष्य भेट्टाउन के कस्ता प्रयास गर्न सकिन्छ भनी सुझाव लिइएको छ । हरेक स्थानीय तहले कोरोना संक्रमणबाट बच्न, बचाउन नागरिकका लागि जारी गरेको निर्देशन समेतको पालन गरी शाखाहरुले काम गरिरहेकोले अन्तरक्रिया मार्फत् थप उर्जा भरेको अध्यक्ष कमलबहादुर बस्नेत बताउँछन् ।

संस्थाका कर्मचारीहरुको आत्मबल दह्रो भयो भने उद्देश्य पहिल्याउन सकिन्छ भन्ने मान्यताका आधारमा सानो सानो संख्यामा कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको उनको भनाई छ । नौ दिवसीय अन्तरक्रिया आज शुक्रबार सकिँदैछ ।

शेयर गर्नुहोस :

0
Shares