Banner news

खोटाङ कोरोना सङ्क्रमित मुक्त

खोटाङ कोरोना सङ्क्रमित मुक्त

COVID-19 icon on white background. flat style. stop novel coronavirus icon for your web site design, logo, app, UI. coronavirus 2019 symbol. stop coronavirus sign. virus wuhan from china.

सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो ।  

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्न समयमा सङ्क्रमण देखिएका सबैजना सङ्क्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए। 

पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसीआर परीक्षण जारी रहे पनि सङ्क्रमित देखा परेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

नगरपालिकामा देखिएका सङ्क्रमितमध्ये सात जना नेपाल प्रहरीका जवान रहेका छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पिसीआर परीक्षण गर्दा चार जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो ।   

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १४६ जनाको पिसीआर परीक्षण गर्दा एक जना, साकेला गाउँपालिकामा ११२ जनाको पिसीआर परीक्षण गर्दा एक जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा एक जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा एक जनालाई पोजिटिभ देखिएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेका छैनन् । 

हालसम्म जिल्लामा एक हजार ६०८ जनाको आरडिटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै कोरोनाको जोखिम बढेपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।  

यसैबीच जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ । देशभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्घीय सरकारको लगानीमा हरेक स्थानीय तहमा पाँच/पाँच शय्याको अस्थायीरूपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण शुरु गरिएको हो । 

शेयर गर्नुहोस :

0
Shares