कोरोना फर्किन सक्छ
सम्पादकीय
नेपालमा कोरोना प्रवेश गरेको एक वर्ष भइसकेको छ । ०७६ चैत १२ गतेदेखि लकडाउन नै भएको थियो । कोरोनाले लाखौं नेपाली संक्रमित भए । तीन हजारभन्दा धेरैको मृत्यू भयो । शुरुआतमा कोरोनाप्रति आम नागरिक त्रसित थिए । तर, विस्तारै नागरिकहरु कोरोनाप्रति वेवास्ता गर्दै गए । एक वर्ष वितेको छ । कोरोनाको त्रासले शुरुआतमा आतंक मच्चिए पनि अहिले कोरोनाप्रति सबै निर्धक्क छन् । कोरोना सकियो भन्ने आम बुझाई गलत छ । यो फेरि बौरिन सक्छ ।
छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या दिनहु बढ्दै छ । एकैदिनमा ४० हजार भारतीय नागरिकमा कोरोना संक्रमण भएको समाचार आइरहेको छ । फ्रान्समा पनि पेरिससहित १५ क्षेत्रमा एक महिनाका लागि लकडाउन घोषणा गरिएको छ । यो शिलशिलाले कोरोना फेरि फैलिन सक्ने अनुमान गर्न सकिन्छ । कोरोना नभएको होइन, अहिले परीक्षण घटेको छ । यदि परीक्षण मात्रै बढाउने हो भने कोरोना निश्चित रुपमा बढ्ने छ । यसैले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन आवश्यक छ ।
कोरोना भाइरसबाट सुरक्षित हुन सरकारले दातृ राष्ट्रको सहयोगमा भ्याक्सिन ल्याएर नागरिकलाई खोप लगाइरहेको छ । विभिन्न चरणमा नागरिकले खोप लगाइरहेका छन् । खोप लगाएर सुरक्षित रहनेका लागि समस्या नभए पनि अन्य नागरिकलाई फेरि संक्रमण हुन सक्छ । नेपालमा पनि विज्ञहरुले सीमा क्षेत्रमा कडाइ गर्न आग्रह गरेका छन् । विज्ञले पनि संभावित जोखिमलाई ख्याल गर्न संकेत गरिसकेका छन् । यसैले गत वर्षको चैत फेरि दोहोरिन सक्छ । बेलेमा सचेत रहन जरुरी छ । कोरोनाबाट सुरक्षित रहनुको विकल्प छैन ।