विर्तामोड । झापामा जिल्ला सहकारी संघले सामुदायिक सहकारी अस्पतालको अवधारणा अघि सारेको छ । बुधबार भर्चुअल माध्यमबाट आयोजना गरिएको संक्षिप्त कार्यक्रममा सो योजना बारे जानकारी गराइएको छ । ‘हाम्रो सहकार्यमा सम्भव छ अभियान’ कार्यक्रम मार्फत सो प्रस्ताव गरिएको हो ।
एक सय करोडको लागत अनुमान गरिएको अस्पतालबाट न्यून शूल्कमा स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । उनका अनुसार पिपिसिपी मोडलमा सामुदायिक सहकारी अस्पताल निर्माण गर्न सकिन्छ । सोही अनुसार प्रस्ताव ल्याएको बताए ।

प्रस्तावित योजनामा ५० करोड रुपैयाँ संकलन भए पछि काम प्रारम्भ गर्ने र चार वर्षभित्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने उनको भनाई छ ।
सामुदायिक सहकारी अस्पतालका लागि सहकारी क्षेत्रबाट २५ करोड, जग्गादाताबाट २५ करोड, देशभरका अन्य सहकारीबाट १० करोड, नागरिकस्तरबाट १० करोड, देशभर नेटवर्क भएका संस्थाबाट १० करोड, अन्तराष्ट्रिय नेपाली समाजहरुबाट १० करोड र सरकारको विभिन्न तहबाट १० करोड योगदान हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै, झापाका सहकारी संघ–संस्था, कर्मचारी र नागरिकको समेत योगदानबाट जिल्ला सहकारी संघको नेतृत्वमा स्वास्थ्य तथा सामाजिक विकास कोष निर्माण गर्ने योजना रहेको जानकारी दिएका छन् । सो कोषमा नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ र स्थानीय सरकार लगायत सरोकारवाला निकायको समेत सहयोग र सद्भाव रहने संघको अपेक्षा छ ।
सो कोषबाट तत्कालका लागि कोभिड-१९ को जोखिम नियन्त्रणका लागि आवश्यक पर्ने सबै कार्यक्रम संचालन गर्ने संघको प्रस्ताव छ ।







प्रतिक्रिया