झापालीले लगाए कोभिड विरुद्धको १ लाख ९५ हजार डोज खोप
बिर्तामोड । झापाका नागरिकले दुई चरणमा कोभिड विरुद्धको १ लाख ९५ हजार ४८ डोज खोप लगाएका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल र जोनसन खोप लगाइएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार पहिलो डोज १ लाख ७४ हजार ४ सय ५९ जनाले लगाइसकेका छन् भने २० हजार ५ सय ८९ जनाले दोस्रो डोज समेत पाइसकेका छन् ।
झापामा कोभिसिल्ड पहिलो डोज ५३ हजार ५ सय ३ जनाले लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, सोही खोप दोस्रो डोज समेत लगाउने जम्मा ८ हजार २ सय ९९ जना रहेका छन् । जिल्लामा ६१ हजार ८ सय २ जनाले कोभिसिल्ड खोप लगाएको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । यस्तै, भेरोसेल पहिलो चरणमा ७५ हजार ७ सय १४ र दोस्रो डोज १२ हजार २ सय ९० जनाले लगाएका छन् । झापामा भेरोसेल लगाउनेको संख्या ८८ हजार ४ जनाले पुगेको चौलागाईको भनाई छ ।
अन्तिम चरणमा लगाइएको जोनसन एण्ड जोनसन ४५ हजार २ सय ४२ जनाले लगाएका छन् । करिव २ लाखमा जोखिममा रहेका नागरिक र ५० देखि माथि उमेर समूहका नागकिकले खोप लगाउन पाएका छन् ।
तथ्याङक अनुसार झापाको दमकले सबैभन्दा धेरै नागरिकलाई खोप उपलब्ध गराएको छ । दमकका २७ हजार ५ सय ९२, मेचीनगरका २५ हजार २५, बिर्तामोडका २२ हजार ४ सय ९४ र भद्रपुरका २० हजार २ सय ६० जना नागरिकले खोप पाएका छन् ।