झापामा सबै जनप्रतिनिधि एमालेमै, संगठन विस्तार अभियान तीब्र
झापा । नेकपा एमाले झापाले पार्टी संगठन सुदृढीकरण अभियानलाई उत्साहसाथ अगाडि बढाएको छ । पार्टी सदस्यता नविकरणदेखि अगुवा कार्यकर्ता भेलाको कामलाई तीब्र रुपमा अगाडि बढाइएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले सनराइज खबरलाई जानकारी दिनुभयो ।
संगठन सुदृढीकरणका लागि आन्तरिक भेटघाट, छलफल र परामर्शमा आफूहरु व्यस्त रहेको बताउँदै पाठकले भन्नुभयो – ‘५ वटै निर्वाचन क्षेत्रको अगुवा कार्यकर्ता भेला, भेटघाट कार्यक्रम सम्पन्न गर्यौं, १५ वटै स्थानीय तहका अगुवा कार्यकर्तासँग भेटघाट गर्यौं, एमालेलाई एकढिक्का बनाएर लैजानका लागि हाम्रो प्रयास जारी छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । पाठकका अनुसार झापामा पहिलेदेखि नै एमाले बलियो अवस्थामा छ । अहिले पनि बलियाे छ । भाेलि पनि बलियाे हुनेछ । झापाका जनताले फेरि पनि एमालेले जित्नुपर्ने र फेरि पनि केपी ओली आउनुपर्ने बताएका पाठककाे भनाइ छ ।
माधवकुमार नेपाल समूहले चोइटिएर अर्को पार्टी खोलेपनि झापामा माधवको पार्टीमा जानेको संख्या अन्त्यन्तै न्यून रहेको पाठकले जानकारी दिनुभयो । झापामा एमालेका कार्यकर्ताहरु बाँडिन्छन् भन्ने डर नभएको पनि उहाँले बताउनुभयो ।
नविकरणको काम ७० प्रतिशत सकियो
झापामा सदस्यता नविकरणको काम अहिलेसम्म ७० प्रतिशत बढी सकिएको पाठकले जानकारी दिनुभयो । ‘पार्टी सदस्यताको काम तत्कालीन नेकपा हुँदाकै अवस्थामा करिब ६० प्रतिशत सकेका थियौं, एमाले ब्युँतिएपछि पार्टीले ०७५–०७६ लाई शून्य समय भनेको छ, यसो भएपछि ०७५–०७६ को सदस्यता शुल्क केन्द्रलाई बुझाउनुपर्ने भयो, तर हामीले त्यही पैसा ७७–७८ को रुपमा रुपान्तरण गर्नेगरी काम गरेका छौं’– उहाँले भन्नुभयो । भदौ ९ अगाडिको निर्देशन अनुसार पार्टीले १५ गतेसम्म सदस्यता नविकरण सक्न भनेकाले त्यही अनुसार काम अगाडि बढाइएको पाठकले बताउनुभयो ।
पार्टीका कामलाई अझ कसरी गति दिने भन्ने विषयमा छलफल गर्न केही दिनमा जिल्ला सचिवालयस्तरीय बैठक राख्ने तयारी भइरहेको पाठकले जानकारी दिनुभयाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर वृहत जिल्लास्तरीय भेला गर्ने गरी तयारीमा पनि आफूहरु जुटिरहेको भन्दै उहाँले यसबारे चाँडै टुंगो लगाउने बताउनुभयो । भदाै ९ गते बसेकाे पार्टी केन्द्रीय कमिटीकाे बैठकपछि कार्यक्रमकाे तालिका थाेरै हेरफेर भएकाे उहाँले बताउनुभयाे ।
पहिला माधवको समूहमा खुलेकाले धमाधम एमालेमै सदस्यता नविकरण गरिहेका पनि अध्यक्ष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा एकीकृत समाजवादीमा नाम जोडिएकाले पनि पहिला नेकपामा हुँदा ७५–७६ मा सदस्यता नविकरण गर्दा नै गरिसक्नुभएको थियो, उहाँहरुलाई पुनःसदस्यताका लागि जानु परेन, किनकी ०७५–७६ लाई शून्य अवधि भनेपछि हाम्रो रिर्पोटमा ७८ को हुन्छ ।’
एमाले र माओवादी ब्युँतिएपछि एमालेमै बसेका पूर्व माओवादीको सदस्यता नविकरण गर्ने काम पनि धमाधम भइरहेको अध्यक्ष पाठकले बताउनुभयो । ‘तत्कालीन नेकपाभित्र रहनुभएका पूर्व माओवादीको ठूलो पंक्ति पनि एमालेमै छ, केही दिन अघि जिल्लास्तरीय भेला सम्पन्न भएको थियो, सो भेलामा उहाँहरुको उत्साहजनक सहभागिता थियो, उहाँहरुको पनि सदस्यता नविकरण गर्ने काम भइरहेको छ’– अध्यक्ष पाठकले भन्नुभयो ।
केन्द्रको निर्णय अनुसार वडा र पालिका अधिवेशनको मिति केही पर धकेलिएपनि आफूहरुले कुनै काम नरोकेको पाठकले जानकारी दिनुभयो । तोकिएको मितिमा वडा अधिवेशन र पालिकाको अधिवेशन गर्न एमाले झापा तयारी अवस्थामा रहेको पनि अध्यक्ष पाठकले प्रष्ट पार्नुभयो ।
सदस्यता नविकरणको काम उत्साहजनक रुपमा अगाडि बढाइएको भन्दै उहाँले यसक्रममा एमालेका नेता, कार्यकर्ता र शुभचिन्तकमा निक्कै उत्साह देखिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नविकरणको कामले नेता कार्यकर्ता शुभचिन्तक सबैमा उत्साह छाएको छ, एमालेमै सदस्यता नविकरण गर्न पाउँदा उहाँहरु एकदमै खुशी हुनुहुन्छ, झापाका घर घरमा एमाले, मनमनमा एमाले भन्दा पनि फरक पदैन ।’ उहाँका अनुसार ०७५ अगाडि एमालेका सदस्यहरु २३ हजार बढी थिए । अहिले त्यो संख्या धेरै नै बढ्ने देखिएको पाठककाे भनाइ छ ।
झापामा माधवकुमार नेपालको पार्टीको अवस्था
पहिला माधवको समूहमा छौं भन्नेहरु माधवले अर्को पार्टी खोलेपछि चिढिएका अध्यक्ष पाठकले बताउनुभयो । माधवले नेकपा एकीकृत समाजवादी खोलेपछि विगतमा उहाँको पक्षमा देखिएकाहरु धमाधम एमालेमा खुल्न थालेका उहाँको भनाइ छ । यसकारण पनि झापामा माधवको पार्टीका मानिस औंलामा गन्न सक्ने मात्र रहेका अध्यक्ष पाठकले सुनाउनुभयो ।
पाठकका अनुसार विगतमा एमालेमा छँदा ०७८ वैशाख ३ गते माधवको समूहले झापामा वेदराज रेग्मीको अध्यक्षतामा ३ सय ५१ जनाको कमिटी बनाएको थियो । केही दिनअघि बसेको माधव पक्षको भेलाले सो कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरेको जानकारी आएको भन्दै उहाँले सो भेलामा जम्मा ३५ जना उपस्थित भएका बताउनुभयो । अध्यक्ष पाठकले भन्नुभयो – ‘उहाँहरुकै साढे ३ सयको कमिटीबाट ३५ जना मात्र समाजवादीमा बस्नुभयो भनेपछि माधवहरुको स्थिति झापामा के छ भन्ने यसबाटै पुष्टि हुन्छ, मैले भन्नै परेन ।’ सो भेलाले अध्यक्षमा वेदराज रेग्मी, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा दिलमणि बराल र उपसचिवमा मणि भण्डारीलाई तोकेको थियो । तीमध्ये प्रकाश र मणि जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उहाँहरुको ३५ सदस्यीय कमिटीबाट पनि केही नेता त एमालेमै फर्किसकेका छन् । चन्दा श्रेष्ठ र मणि भण्डारी एमालेमै आउनुभएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । दिलमणि पनि एमालेमै फर्किने सम्भावना रहेकाे तर यकिन नभएकाे पाठकले बताउनुभयाे । एमालेमा आए उहाँहरुलाई खुल्ला हृदयसाथ स्वागत गरिने पाठकले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले आज दमकमा पार्टी कार्यालय स्थापना गर्न लागेको जानकारी आएको पनि पाठकले बताउनुभयो । समग्रमा भन्दा झापामा ठूलो संख्यामा नेता कार्यकर्ता माधवको पार्टीमा जान अवस्थानै नरहेको अध्यक्ष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हिजो एमालेभित्र रहँदा माधव नेपाललाई केही मानिसले साथ दिए, त्यो एमालेको रक्षा, सम्बद्र्धन र विकासका लागि थियो, तर उहाँले एमाले चोइटाएर एकीकृत समाजवादी बनाएपछि एमालेका झापाका नेता कार्यकर्ता ठूलो संख्यामा उहाँको पार्टीमा जाने अवस्था छैन, जो हिजो पार्टीभित्र बस्ने, पार्टीका निर्णय नमान्ने, पार्टीलाई असहयोग गर्ने, अप्ठ्यारो बनाउने जुन नवौं महाधिवेशनपछिको परिस्थितिमा रहेका केही अराजक मानिस मात्र त्यतातिर जाने देखिएको छ ।’
उहाँका अनुसार झापामा माधव नेपालको पार्टी केन्द्रीय सदस्यविहीन छ । जनप्रतिनिधिविहीन छ । आम नागरिकहरु केपी ओलीकै नेतृत्वको एमालेमा प्रतिबद्ध रहेका अध्यक्ष पाठकले बताउनुभयो । ‘तल्लो लेभलमा त छँदै छैनन्,नेतृत्वमा रहेका कता ठूलो भाग खान पाइन्छ, कता गयो भने राम्रो पद पाइन्छ भन्नेहरु चलमलाएको देखिन्छ ती पनि एकदमै न्यून छन्’– पाठकको भनाइ छ ।
सबै जनप्रतिनिधि एमालेमै
अध्यक्ष पाठकले अहिलेसम्म आफूलाई जानकारी गराएअनुसार झापामा चुनाव जितेका स्थानीय तहका सबै जनप्रतिनिधि एमालेमै रहेका बताउनुभयो । माधवको पार्टीमा गएका छैनन् । ‘अहिले झापामा एकीकृत समाजवादीमा जान्छौं भन्ने कुनै पनि जनप्रतिनिधि छैनन्’– पाठकले भन्नुभयो ।
तत्कालीन नेकपामा हुँदा एमालेले प्रतिनिधि सभामा झापाको पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटामा एमालेले, एउटामा राप्रपा र एउटामा तत्कालीन नेकपाबाट माओवादीले जितेको थियो । एमालेबाट केपी शर्मा ओली, झापा–२ बाट पवित्रा निरौला खरेल र एलपी साँवा लिम्बुले जित्नुभएको थियो । यसअघि माधव समूहमा रहनुभएकी पवित्रा एमालेमै बस्नुभएको छ ।
१० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये आठ वटामा र एउटा समानुपातिक एमालेले जितेको थियो । एमालेबाट १ नम्बरबाट श्री मैनाली गोपाल र बुढाथोकी, २ नम्बरबाट एकराज कार्की र बिर्ख प्रधान, ३ बाट वसन्त बानियाँ, ४ बाट हिरा थापा र ५ बाट हिक्मत कार्की र अर्जुन ले जित्नुभएको थियो । समानुपातिक सांसद् जसमाया गजमेर पनि एमालेमै रहनुभएको अध्यक्ष पाठकले बताउनुभयो ।
आठ जना प्रदेश सभा सदस्य एमालेमै रहनुभएको अध्यक्ष पाठकले बताउनुभयो । यसअघि माधव समूह निकट मानिनुभएकी जिल्ला समन्वय समिति उपप्रमुख मीना पराजुली पनि एमालेमै रहनुहुने पाठकले बताउनुभयो । १५ स्थानीय तहमध्ये एमालेले सात वटामा प्रमुख-अध्यक्ष र ११ वटामा उपप्रमुख-उपाध्यक्ष जितेको छ । ती सबै स्थानीय तहका जनप्रतिनिधि एमालेमै रहनुभएको पाठकले बताउनुभयो ।