सहाराको सदस्य बने संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ
बिर्तामोड । संविधान सभाका अध्यक्ष एवम् एमाले नेता सुवास नेम्वाङ सहारा नेपालको सदस्य बनेका छन् । सहाराको २५ औं साधारणसभामा नेम्वाङले सदस्य बन्ने घोषणा गरेका हुन् ।

साधारणसभाका प्रमुख अतिथि नेम्वाङले सहारा नेपालको वार्षिक प्रगति र सहभागी वक्ताहरुले दिएको अभिव्यक्ति सुनेर प्रभावित भएको भन्दै सदस्य बन्ने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेम्वाङले भने – ‘यति राम्रो संस्थामा म कसरी छुटेछु ? संस्थाको विगत र वर्तमान सुनेरै सदस्य बन्ने निर्णय गरेको छु । संस्थाले मलाई सदस्य घोषणा गरेकामा असाध्यै खुशी लागेको छ ।’
प्रमुख अतिथि नेम्वाङले सहकारी संस्था समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण हिस्सा भएको बताएका छन् । उनले आफु पनि विभिन्न माध्यमबाट सहकारी आन्दोलनमा जोडिएको बताए । नेता नेम्वाङले सहाराको प्रशंसा गर्दै सहकारी अभियान देशको हितमा रहेको बताएका छन् । उनले सहाराले अघि सारेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै जान आग्रह समेत गरे ।