मधेश प्रदेशमा महिला अघिकार उलंघनका २ सय २८ घटना
जनकपुरधाम । मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ ।
मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ । उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अघिकार उलंघनमा २ सय २८, बाल अधिकार उलंघनमा २२३ घटना भएको उल्लेख छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरि प्रसाद बंगालेले गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादवले न्यायालय स्वतन्त्र हुन नसकेको बताइन् । मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुँदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो ।
राजनीतिक नियुत्तिका कारणले गर्दा न्यायालय स्वतन्त्र नभएकोसमेत उनको भनाइ छ । ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए । सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ ।