मुख्य समाचार

‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रम

‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रम


पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ । ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो ।

आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने र स्वस्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार हुने भएकाले गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताउनुभयो । वडा नं १ का १००, वडा नं २ का ११०, वडा नं ३ का १०५, वडा नं ४ का ९५, वडा नं ५ का ९० र वडा नं ६ का ९८ गरी कूल ५९८ गर्भवतीलाई एक महिना पुग्ने गरी पोषिलो आहार उपलब्ध गराइएको हो ।

साथै गर्भवतीको स्वास्थ्य जाँचका लागि निःशुल्क भिडियो एक्सरेको व्यवस्थासमेत गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ । गर्भवती महिलालाई तीन–तीन महिनामा जाँच गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पालिकाले एक हप्ताभित्र गर्भवतीको नामावली तयार गरी वीरगञ्जस्थित अस्पतालसँग समन्वय गरेर भिडियो एक्सरे गर्नुका साथै स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाउने योजना अघि बढाएको छ ।

साथै ज्येष्ठ नागरिकका लागि पनि पालिकाले वीरगञ्जको परवानीपुरस्थित केडिया आँखा अस्पतालसँग समन्वय गरी मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया गराउने व्यवस्थासमेत मिलाएको अध्यक्ष जयसवालले जानकारी दिनुभयो । मोतियाबिन्दु भएका ज्येष्ठ नागरिकले पालिकाबाट सिफारिस लिएर केडिया आँखा अस्पतालमा गई निःशुल्क शल्यक्रियासमेत गराउने सक्ने गाउँपालिकाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares