Banner news

फागुन २१ – जेल सार्ने बहानामा क्रान्तिकारी योद्धाको हत्या भएको दिन

फागुन २१ – जेल सार्ने बहानामा क्रान्तिकारी योद्धाको हत्या भएको दिन


‘सुखानीको रगतले भन्छ हामीलाई,
सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’

झापा । ४९ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’ का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ ।

वि.सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।
सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

संक्षेपमा महान् शहीदको जीवनी
रामनाथ दाहाल
तेह्रथुम जिल्ला आठराईको इवा भदौरेमा जन्मनु भएका रामनाथ दाहाल २०१७ सालदेखि झापाको चारपानेमा बस्न थाल्नुभएको थियो । उहाँलाई सानैदेखि किसानमाथि हुने अन्याय असह्य हुन्थ्यो ।
उत्पीडनमा परेका किसानका धान काट्न र थन्काउन सहयोग गर्नुहुन्थ्यो । उहाँलाई सामन्तहरुले २०२६ सालमा मुद्दा हालेका थिए । त्यसैले २०२७ बैशाखमा गिरफ्तार गरी उहाँलाई ३ महिना थुनामा राखिएको थियो ।

३२ वर्ष उमेरमा पछिल्लोपटक रामनाथ आफ्नै घरबाट पक्राउ परेको पुगनपुग ३ महिनापछि सुखानीमा मारिनुभयो । उहाँ ठट्यौली पारामा भन्नुहुन्थ्यो– ‘आन्दोलन सफल भएर सरकार बनाइयो भने मचाहिँ मन्त्री बन्दिनँ । तिमीहरुको ड्राइभर बनुँला ।
किनभने ड्राइभर सही नभए गन्तव्यमा पुगिन्न ।’ जुन राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा उल्लेख गर्नुभएको छ । रामनाथको परिवारमा जेठी पत्नी जानुका ओली दाहालतर्फ चार छोरी र दुई छोरा हुन् । एक छोराको निधन भइसकेको छ । कान्छी पत्नी विश्वेश्वरा उप्रेती दाहालतर्फ दुई छोरा छन् ।

नेत्र घिमिरे
नेत्र घिमिरेको जन्म २००३ सालमा तेह्रथुम आठराईमा भएको थियो । पछि झापाको गरामनीमा बसाइँ सर्नुभएको थियो । उहाँ विद्यालय अध्ययनपछि २०२४ सालमा मेची क्याम्पस भद्रपुरमा भर्ना हुनुभयो र क्याम्पसमा प्रगतिशील विद्यार्थी आन्दोलनमा होमिनुभयो ।
२०२६ देखि पार्टीमा पूर्णकालीन भई काम गर्न थाल्नुभयो । उहाँ २०२९ पुस १४ गते गरामनीमा सुराकीबाट पक्राउ पर्नुभएको थियो । उहाँको परिवारमा पत्नी जीवन घिमिरे हाल काठमाडौँ चाबहिलमा बस्नुहुन्छ भने उहाँका दुई छोरी हुनुहुन्छ । उहाँका दाजुभाइ धर्म घिमिरे र देवी घिमिरे पनि विद्रोहमा सहभागी हुनुहुन्थ्यो ।

वीरेन राजवंशी
वीरेन राजवंशीको जन्म २००२ सालमा झापा चन्द्रगढीमा भएको थियो । उहाँकी पत्नी बुबाआमाकी एक मात्र छोरी हुनुहुन्थ्यो, जसले गर्दा विवाहपछि उहाँको परिवार ससुराली गाउँ अर्थात् झापाकै ज्यामिरगढीमा रह्यो ।
उहाँ मलाया पनि जानुभएको थियो र त्यहाँका कम्युनिष्टबाट प्रभावित हुनुभएको थियो । २०२६ सालदेखि उहाँ राजनीतिमा सकृय हुनुभएको हो । उहाँ चन्द्रगढी छेउबाट २०२९ मंसिरमा पक्राउ पर्नुभएको थियो । उहाँकी पत्नीको निधन भइसकेको छ भने दुई छोरामध्ये एक हुनुहुन्छ ।

कृष्ण कुइँकेल
कृष्ण कुइँकेल २०११ सालमा गरामनी झापामा जन्मिनुभएको थियो । उहाँ नेत्र घिमिरेबाट प्रभावित हुनुहुन्थ्यो । पार्टीमा २०२७ सालदेखि संगठित हुनुभएको थियो । उहाँ २०२९ साल माघ १ गते पक्राउ पर्नुभयो । कृष्ण कुइँकेल अविवाहित हुनुहुन्थ्यो ।

नारायण श्रेष्ठ
नारायण श्रेष्ठ उच्च मध्यम परिवारमा जन्मिनुभएको थियो । यद्यपि शोषित र उत्पीडित जनसमुदायको पक्षमा लड्ने प्रण गर्नुभएको थियो । उहाँ सहिद कृष्ण कुइँकेलका अनन्य मित्र हुनुहुन्थ्यो । नारायण श्रेष्ठको पनि विवाह भएको थिएन । कृष्ण र नारायण दुवैले एससलसी पास गरिससक्नु भएको थियो । दुवै पश्चिम झापाबाट पक्राउ पर्नु भएको हो ।

शेयर गर्नुहोस :

0
Shares