बिर्तामोड । झापाको बिर्तामोडमा रहेका फुटपाथ व्यवसायीले आफ्नो व्यवसायलाई व्यवस्थापन गर्न शुरु गरेका छन् । नगरपालिकाले साउन २२ गते सूचना जारी गरेर ७ दिनभित्र फुटपाथ व्यवसाय हटाउन अपील गरेपछि व्यवसायीले व्यवस्थापन गरेका हुन् ।

बिर्तामोडको भद्रपुर रोडसहित अन्य रोडहरुमा फुटपाथ व्यवसाय सञ्चालन गरिरहेका व्यापारीले भद्रपुर रोडमा जग्गा भाडामा लिई व्यवसाय थालेका छन् । आजैदेखि भद्रपुर रोडस्थित बैंक अफ काठमाडौंको उत्तर भागमा रहेको खाली जग्गामा उनीहरुले आफ्नो व्यवसाय शुरु गरेका हुन् ।
सडकको आसपासमा व्यापार गर्दै आएका उनीहरु टिनको छानासहितको स्टल बनाएर बसेका छन् । १६ जना व्यवसायीले आफ्नो व्यापारी शुरु गरिसकेको जानकारी दिएका छन् । सो स्टलमा १० वटा फलफुल, एउटा होटल र कपडा पसलहरु आइसकेका छन्, थप केहि पसलहरु आउने त्यहाँका व्यापारीले जानकारी दिए ।
२ वर्षका लागि भाडामा लिइएको जग्गामा अगाडि र पछाडिको भागमा व्यापार गर्नेहरुको भाडादर फरक–फरक रहेको छ ।
बिर्तामोड नगरपालिकाले सडक आसपासको क्षेत्र खाली गर्न आव्हान गर्दा फुटपाथका व्यवसायी आन्दोलित समेत भएका थिए । बिर्तामोड नगरपालिकामा विरोध र्यालीसहित पुगेका व्यापारीले आफ्नो बाउबाजेदेखि फुटपाथमा व्यवसाय गरेको बताएका थिए । बाउबाजेदेखि फुटपाथमा व्यवसाय गरेको अडान राखेका व्यवसायी अन्ततः स्वव्यवस्थापन गर्न सफल भएका छन् ।
बिर्तामोडमा वर्षौदेखि व्यवस्थापन गर्न प्रयास गरिए पनि यो वर्षदेखि समाधानको चरणमा पुगेको छ । यस क्षेत्रमा सयौं व्यवसायी फुटपाथमा व्यवसाय गर्दै आएका थिए । विस्तारै अन्य फुटपाथका व्यवसायी पनि व्यवस्थित हुने नगरपालिकाले विश्वास लिएको छ ।









प्रतिक्रिया