चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र
बिर्तामोड । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिए । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५-७६ मा २६ दशमलव १८ किमी, २०७६-७७ मा ५२ दशमलव २१ किमी, २०७७-७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८-७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो ।
सडक मर्मत र ग्राभेल
यसैगरी सोही अवधिमा आठ सय १९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । जसमा आर्थिक वर्ष २०७५-७६ मा छ सय एक किलोमिटर, २०७६-७७ मा ६१ दशमलव ५४ किमी, २०७७-७८ मा ५१ दशमलव १३ किमी र आव २०७८-७९ मा एक सय छ दशमलव १६ किमी सडक मर्मत गरिएको हो ।
सोही अवधिमा आठ सय ९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा एक सय २८ दशमलव नौ किलोमिटर, २०७६-७७ मा दुई सय ११ दशमलव ३५ किलोमिटर, २०७७-७८ मा एक सय ७५ दशमलव ३१ किलोमिटर र आव २०७८-७९ मा तीन सय ८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
कच्ची सडक र ट्र्याक
यस्तै, सोही अवधिमा आठ सय ५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा एक सय ८१ दशमलव तीन किलोमिटर, २०७६-७७ मा चार सय ७७ दशमलव ८२ किलोमिटर, २०७७-७८ मा एक सय नौ दशमलव १९ किलोमिटर र २०७८- ७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ ।
मन्त्रालयले उक्त अवधिमा पहाडी क्षेत्रमा दुई सय ५४ दशमलव ३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा सात दशमलव पाँच किमी, २०७६-७७ मा एक सय ४२ दशमलव ५९ किलोमिटर, २०७७-७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८-७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्र्याक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ गरिएको छ ।
मोटरेवल र झोलुङ्गे पुल
मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेवल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा १०, २०७६-७७ मा १२, २०७७-७८ मा आठ र आव २०७८-७९ मा २५ पुल निर्माण सम्पन्न गरेको हो ।
सोही अवधिमा प्रदेशभरिमा एक सय पाँच वटा झोलुङ्गे पुल निर्माण गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा सात, २०७६-७७ मा २९, २०७७-७८ मा ४४ र आव २०७८-७९ मा २५ वटा झोलङ्गे पुल निर्माण भएको हो ।