खवरदारीमा असहयोग
सम्पादकीय
झापाको बिर्तामोडमा एक जना युवाले आम नागरिकको साझा समस्या समाधानका लागि आमरण अनशन थाले । जसले सातौं दिनमा स्थगित समेत गरेका छन् । राज्यलाई दवाद दिने उद्देश्य सहित आमरण अनशन बसेका बिर्तामोडका युवालाई झापाका सिडियोले माग सम्बोधनका लागि समन्वय गर्ने विश्वास दिलाएपछि अनशन स्थगित गरे । आमरण अनशनको मुल उद्देश्य भनेको आर्थिक क्षेत्र कब्जा गर्नेहरु सच्चिउन् भन्ने नै हो । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध अनशन बस्ने युवाले वास्तवमा अपेक्षाकृत साथ पाएनन् ।
बैंक तथा वित्तीय संस्थाको ज्यादतीका कारण आम नागरिक समस्यामा छन् । तमाम् व्यवसायीहरु व्यापारबाटै विस्थापित हुनुपर्ने अवस्था झेलिरहेका छन् । उधोग कलकारखाना सञ्चालकहरु उधोग सञ्चालन गर्न सकिरहेका छैनन् । सक्नेहरुले पनि उत्पादन घटाइरहेका छन् । आर्थिक क्षेत्रको असरका कारण मानव जीवन नै अप्ठ्यारो ठाउँमा पुगेको छ । केहि ठाउँहरुमा वित्तीय संस्थाको दवावका कारण आत्महत्या नै रोजेका छन् । समग्र वित्तीय क्षेत्रको ज्यादती विरुद्ध खवरदारीका लागि अनशन बसेका युवाहरुलाई समस्यामा परियो भन्दै ढोल पिट्नेहरुले समेत सद्भाव व्यक्त गरेनन् ।
अनशन बसेका युवाले उठाएको मुद्धा उनको नीजि थिएन । जब इलामका प्रेम प्रसादले आत्मदह गरे त्यसपछि उनले आमरण अनशन थाले । उनलाई विभिन्न आरोप पनि लगाइयो । विभिन्न व्यक्तिहरुले परिचालन गरेको भन्दै आमरण अनशनको अनावश्यक प्रचार समेत गरियो । राज्यलाई वेथिती विरुद्ध खवरदारी गर्दा पनि साथ सहयोग हुदैन । सधैं समस्या मात्रै राख्ने, समाधान नखोज्ने परिपाटीबाट अघि बढिरहेको नेपाली समाजमा चेतनाको आँखा अझै खुलेको छैन । यहाँका राजनीतिक दल, सामाजिक संघ संस्थाहरु समेतले खासै चासो दिन आवश्यक ठानेनन् । यो अभियानलाई सातौं दिनसम्म पुर्याएर राज्यलाई घच्घचाउने एक्लो माधव झालाई सकारात्मक अभियानमा सधैं उर्जा मिलिरहोस् ।