रास्वपामा पुरानै सिको
सम्पादकीय
पार्टी स्थापनाको ६ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले महाफड्को मार्यो । राजनीति वृत्तमा अपत्यारिलो ढंगबाट आएको रास्वपाले पार्टी स्थापनापछि पहिलो निर्वाचनमा सहभागी भई अनपेक्षित परिणाम समेत प्राप्त गर्न सफल भयो । तर, परिणाम आएको ६ महिनासम्म रास्वपामा शान्ति टिकेन । अर्थात, पार्टीमा अहिले विविध उतारचढाव आएको छ । पत्रकारिता जीवनलाई छोडेर राजनीतिमा लागेका रवि लामिछाने अमेरिकाबाट फर्किएपछि निरन्तर विवादमा छन् । उनैको नेतृत्वमा स्थापना गरिएको पार्टी अहिले जटिल मोडमा पुगेको छ ।
रवि लामिछाने पत्रकारिता भएदेखि नै विभिन्न मुद्धामा विवादित बन्दै आएका थिए । उनैको नेतृत्वमा पार्टीले निर्वाचनमा सफलता पनि पायो । तर, नागरिकता विवादमा सर्वोच्चको फैसलाले उनको पार्टी सभापति, सांसद्, उपप्रधान तथा गृहमन्त्री एकै पटक गयो । फेरि प्रक्रिया पुरा गरेर नागरिकता बनाएका लामिछानेले सरकारमा सहभागी हुँदाको सम्झौता बमोजिम गृहमन्त्री बन्न पाउनुपर्ने अडान कसे । अन्ततः लामिछानेले पनि पुरानै दलहरुको सिको गरेका छन् । उनले गरेका राजनीतिक गतिविधिको चौतर्फी आलोचना भइरहेको छ ।
उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका लामिछानेले राजनीतिमा नयाँ कोर्षको परिपालना गर्ने विश्वास थियो । तर, सत्ता शक्तिकै भोक रविमा पनि देखियो । पार्टीभित्र शासकशैलीमा प्रस्तुत भइरहेका रविको पार्टीले राम्रो काम गरेर यहाँसम्म आएको होइन । राम्रो काम गर्ने विश्वासका साथ मतदाताले जोखिम मोलेका हुन् । तर, उनको राजनीतिक प्रवृत्तिमा खासै सुधार आएको पाइदैन । अर्थात, काम गर्ने गरिको रोजाई छैन । यहाँ किसानको समस्या समाधान गर्ने कृषि मन्त्रालयको रोजाई नै छैन । शक्ति र सलामी कै रोजाई छ । यसैले आक्रोस थुपरिएको ठाउँमा धेरै आशा अपेक्षा गर्ने परिस्थिति छैन । एउटा व्यक्तिले जिम्मेवारी नपाउदैमा सरकार छोड्ने घुर्की बेक्कारको बाटो हो । समयमा सच्चिएन भने आउँदो निर्वाचनसम्म रास्वपाको ओझ बाँकी रहदैन ।