माछा किसानले बुझेनन् बजारको माग
सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकाले नागरिकको स्वास्थ्यमा संवेदनशिल हुँदै भारतबाट आयात हुने मरेका माछामा प्रतिवन्ध लगायो । जसले मारमा परेका स्थानीय किसानलाई उत्साह बनायो । भारतबाट मरेका माछा आयात रोकिएपछि स्थानीय किसानले उत्पादन गरेकामा माछाले बजार पाउने सुनिश्चित भयो । मरेका भारतीय माछाका कारण स्थानीय किसानले उत्पादन गरेका माछाले उचित मुल्य र बजार समेत पाउन सकेको थिएन । भारतबाट जिउँदो होस् वा मरेका माछा हुन्, आयात घटाउने हो भने स्वभाविक रुपमा यहाँका किसानलाई राहत हुन्छ । मरेका माछा मात्रै प्रतिवन्ध लगाउँदा पनि केहि मात्रामा किसानले राहत पाएका छन् ।
अस्वस्थ्यकर माछामा प्रतिवन्ध लगाएको बिर्तामोड नगरपालिकाले आम नागरिकको स्वास्थ्यमा ख्याल गर्दै गरेको निर्णय हो । तर, यो निर्णयपछि बजारमा व्यापारीहरुको आफ्नै गुनासो छ । किसानहरु पनि मरेको माछा लुकाई छिपाई विक्रि भइरहेको आरोप लगाइरहेका छन् । बजारमा मरेका भारतीय माछाको ठुलो मात्रामा खपत हुने गरेको छ । अहिले खुल्ला रुपमा विक्री गर्न नपाइने भएपछि आवश्यक पर्नेहरुले लुकाईछिपाई आयात गरिरहेको पाइन्छ । त्यसको मुख्य कारण भनेको स्थानीय किसानले माग अनुसारको माछा दिन नसक्नु नै हो । यदि किसानले उपभोक्ता र व्यापारीको माग अनुसार माछा उपलब्ध गराउने हो भने अवश्य पनि लुकाईछिपाई व्यापार हुने छैन ।
बिर्तामोड नगरपालिकाको निर्णयअघि किसान मारमा परेका थिए । निर्णयपछि व्यवसायी पनि मारमा परेका छन् । उपभोक्ताले खोजेको माछा बिर्तामोडमा नपाइने भएपछि अन्यत्र गएर खरिद गर्न बाध्य छन् । मरेको भारतीय माछा जिउँदै यहाँ दिने हो भने उपभोक्ताले बाहिर जानु पर्दैन । अर्थात, किसानले अब बजारको माग अनुसार पनि माछा उत्पादन गर्नुपर्छ । किसानले अहिले जे जातको माछा उत्पादन गरिरहेका छन्, त्यो मात्र व्यापारीले खरिद गर्नुपर्ने, उपभोक्ताले त्यै माछा मात्रै खानुपर्ने भन्ने हुदैन । माछाका अनेकौ जात छन् । उपभोक्ताले चाहेको जुनसुकै माछा उपलब्ध नहुने हो भने लुकाईछिपाईको श्रृङ्खला चलिरहन्छ । अब, व्यापारी र किसानबीचमा आवश्यक समन्यव र सहकार्यको खाँचो पनि देखियो । व्यापारी र किसानका आ–आफ्नै गुनासाहरु छन् । यसको समाधानका लागि छलफल र बहस आवश्यक छ ।