जेष्ठ २७, २०८२ सोमबार

किसानलाई बचाऔं

सम्पादकीय
केहि वर्षअघिसम्म सडकमा ‘मिल्क होलिडे’ मनाइन्थ्यो । किसानले दुधको उचित मुल्य र बजार नपाएपछि सडकमा ल्याएर दुध पोखिदिन्थे । लामो समयको आन्दोलनपछि दुधको मुल्य तोकिएको छ । अहिले किसानले दुधको गुणस्तर अनुसार मुल्य पाइरहेका छन् । तथापि, किसान सन्तुष्ट छैनन् । गाई पालक किसानले गरेको लगानी र भइरहेको दैनिक खर्च अनुसार उचित मुल्य प्राप्त हुन सकेको छैन । भर्खरै चितवनका किसानले तरकारी सडकमा फालेर प्रदर्शन नै गरे । बजारको अभाव, विचौलियाको रजगजका कारण किसान व्यवहारिक रुपमा मृत छन् । उनीहरुलाई न्याय दिने सरकार छैन ।

किसानले लगानी गरे अनुसार तरकारीको मुल्य प्राप्त हुदैन । किसानबाट प्रति केजी ५ रुपैयाँमा खरिद गरेको टमाटर उपभोक्ताले प्रति केजी ५० रुपैयाँमा खरिद गर्नुपरेको छ । यस्ता समस्याहरुबाट ग्रसित किसानको दुखले सीमा नाघेको छ । बैंक तथा वित्तीय संस्थाको व्याजदर, विचौलियाको मनपरी र उत्पादित बस्नुको अनुचित मुल्यका कारण किसान ठुलो मारमा परेका छन् । यस्तै, समस्याहरुबाट ग्रसित झापाका किसानले मंगलवार बिर्तामोडको मुक्तिचोकमा अण्डा र जिउँदो कुखुरा फालेर सरकारलाई सांकेतिक विरोध जनाए । वास्तवमै सरकारले किसानको दुख महसुस गरेको छैन । सरकार विचौलियाको मनपरीमा मुकदर्शक छ ।

झापाली किसानले आफ्नो दुखलाई दर्शाउन गरेको आन्दोलनले देशभर तरंग ल्यायो । उनीहरुले अण्डा फालिदिए । हजारौं कुखुरा फालिदिए । उनीहरुले ल्याएका कुखरा फर्काएर समेत लगेनन् । किनभने, कुखुरा फर्काएर लगेर पाल्न सक्ने अवस्था छैन । किसानले अण्डा उत्पादनमा गरेको लगानीमा प्रति गोटामा ४ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । तर, उपभोक्ताले व्यापारीबाट किसानको मुल्यभन्दा ७ रुपैयाँ बढि तिरेर खरिद गर्नुपरेको छ । कृषि वस्तुको खरिदमा उपभोक्ताले किसानको मुल्यभन्दा दशौं गुना बढि तिरिरहेको अवस्था छ । किसान र उपभोक्ता मारमा परेका छन् । विचौलिया र व्यापारी नाफामा छन् । यसरी कृषि क्षेत्र बचाउन गाह्रो हुनेछ । स्वदेशमै केहि गरौं भन्ने साहस बोकेको युवालाई पलायन हुनबाट बचाउने हो भने सरकारले तत्काल किसानको पक्षमा निर्णय लिन आवश्यक छ ।

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]