Banner news

झापाली समाज युएसएको पहलमा झापाका गरिव विद्यार्थीलाई वार्षिक २१ हजार छात्रवृत्ति

झापाली समाज युएसएको पहलमा झापाका गरिव विद्यार्थीलाई वार्षिक २१ हजार छात्रवृत्ति


पढाईमा उत्कृष्ट हुनुपर्ने मापदण्ड, सहकारी संघको सहकार्य

बिर्तामोड । झापाका करिव ७० जना विद्यार्थीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको छ । अमेरिका बस्दै आएका नेपालीहरुले झापाका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको हुन् । नयाँ शैक्षिक सत्रका लागि पहिलो किस्ता वापत ११ हजार प्रदान गरिएको छ । विर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको हातबाट छात्रवृत्ति प्रदान गरिएको हो ।

नगर प्रमुख प्रसाईले प्रवासमा बसेर पनि स्वदेशमा रहेका गरिव विपन्न विद्यार्थीका लागि महत्वपूर्ण काम गरेकामा धन्यवाद व्यक्त गरेकी छन् । उनले स्वदेशमा बस्नेहरुले चिन्ता लिन नसकिरहेको विषयमा प्रवासबाट चिन्ता लिएको भन्दै सबै दाता, सहयोगीहरुलाई आभार प्रकट गरेकी छन् । उनले स्थानीय तहको तर्फबाट यस प्रकारका कार्यक्रममा सधैंव सहयोग गर्दै जाने प्रतिवद्धता जनाएकी छन् ।

अमेरिकास्थित झापाली समाज युएसए, झापा विकास मञ्ज काठमाडौंले उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि जिल्लामा स्थानीय समन्वय झापा जिल्ला सहकारी संघले गरिरहेको छ । गत वर्षदेखि शुरु गरिएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमलाई अघि बढाइएको हो ।

सोमवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई जनही ११ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको झापा विकास मञ्चका अध्यक्ष हरि प्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार यो छात्रवृत्तिको पहिलो किस्ता हो । दोस्रो किस्ता १० हजार रुपैया प्रदान गरिनेछ । २१ हजारका दरले प्रदान गरिने छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनमा ठुलो सहयोग पुग्ने उप्रेतीको भनाई छ । उनले आर्थिक रुपमा गरिव, विपन्न परिवार र अध्ययनमा राम्रो भएको विद्यार्थीहरुलाई प्राथमिकता दिएको जानकारी दिए ।

अमेरिका बस्दै आएका नेपालीहरुले गरिव विपन्न परिवारका बालबालिकाहरुलाई विशुद्ध अध्ययनमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न थालेका हुन् । उक्त कार्यक्रमको सहजीकरण जिल्ला सहकारी संघ मार्फत भइरहेको छ । संघले सहकारीहरुको सहयोगमा समेत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिरहेको अध्यक्ष गणेश ढकालले जानकारी दिए । एउटै अभियान भए पनि ५२ जना झापाली समाज युएसए, झापा विकास मञ्च काठमाडौं र जिल्लाका सहकारीहरुले १४ जना विद्यार्थीलाई छात्रवृत्ति गर्दै आएका छन् ।

स्थानीय स्तरमा सहकारीले विद्यार्थी छनौटमा सहयोग गर्दै आएको छ । सहकारीले छनौट गर्ने विद्यार्थीमध्ये एक जनालाई सहकारीले नै छात्रवृत्ति प्रदान गर्नुपर्ने दुई पक्षबीचको सम्झौतामा उल्लेख छ । तर, गत वर्ष सहकारीहरुले समयमा विद्यार्थीहरुलाई छात्रवृत्ति रकम नदिएको विषयले समस्या ल्याएको थियो । अमेरिकाबाट पैसा पठाइसक्दा पनि सहकारीहरुले दुई किस्ता समयमै नबुझाएपछि दाताहरुले गुनासो पोखेका थिए । संघ मार्फत छिटोछरितो काम हुन्छ भन्ने अपेक्षा हुँदाहुँहै पनि ढिलाई भयो, एक जना दाताले भने – सहकारीहरुको भूमिका ठिक नभए उहाँहरुसँगको सहकार्य तोडिन पनि सक्छ ।

यता, झापाली समाज युएसएका सदस्य भेषराज मैनालीले सहकारी मार्फत वितरण हुने छात्रवृत्ति वितरणमा ढिलाई भएको गुनासो आफुले पनि सुनेको बताए । ढिलो नहोस्, विद्यार्थीले समयमै छात्रवृत्ति पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, मैनालीले भने – पहिलो वर्ष केहि प्राविधिक समस्याहरु देखिए पनि आगामी दिनमा सुधार हुँदै जाने विश्वास छ । उनले नयाँ विद्यार्थीहरु थप गर्नुपर्ने माग समेत भइरहेको बताए । मैनाली भन्छन्, हामी थप सल्लाह गरेर नयाँ विद्यार्थी जोड्ने विषयमा निर्णय गर्छौं ।

झापा जिल्ला सहकारी संघले स्थानीय सहकारीहरु मार्फत वितरण गर्ने भनिएको छात्रवृत्तिलाई झापाली समाज युएसए, झापा विकास मञ्चका प्रतिनिधिहरुको उपस्थितिमा यो शैक्षिक सत्रको पहिलो किस्ता वितरण गरिएको छ । गत वर्ष छात्रवृत्ति वितरणमा ढिलाई भएपछि यसपटक भने सहयोगी संस्थाहरुकै उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो ।

अध्ययनमा राम्रो विद्यार्थी पनि गरिवीका कारण नतिजा कमजोर हुदै जाने भएपछि उनीहरुलाई लक्षित गरेर उक्त योजना निर्माण गरिएको झापाली समाज युएसएका महासचिव निलम विमली बताउँछन् । उनका अनुसार धेरैजसो पढाईमा जान्ने विपन्न परिवारका विद्यार्थीको कक्षा बढ्दै गएपछि पढाई खस्किदै जान्छ । गरिवीका कारण पठनपाठनमा प्रभाव नपरोस् भन्नलाई वार्षिक २१ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्न थालिएको हो ।

कक्षा ६ देखि माथि १२ कक्षासम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । त्यसभन्दा माथि पनि आवश्यक सहयोग गर्दै जाने योजना रहेको विमलीको भनाई छ । उनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नतिजा कमजोर हुन पाउने छैन । विद्यार्थीको नतिजा विग्रिएमा अर्को वर्ष विद्यार्थीले छात्रवृत्ति पाउने छैनन् । उनले गत वर्षदेखि छात्रवृत्ति पाउने विद्यार्थीले नियमित वार्षिक रुपमा २१ हजार प्राप्त गर्ने जानकारी दिए । त्यसका लागि विद्यार्थीको मेहनतमा भर पर्नेछ । यता, विमलीले कक्षा १२ पछि उत्कृष्ट अंक ल्याएर उर्तिर्ण हुने विद्यार्थीहरुका लागि प्राविधिक शिक्षामा सहयोग गर्न सकिन्छ कि भन्ने सोचसम्म बनाएको बताएका छन् ।

शैक्षिक सामग्री खरिद र अध्ययनका लागि आवश्यक काममा मात्रै खर्च गर्न पाइने उक्त रकमको अधिकतम सदुपयोग होस् भन्ने चहाना रहेको महसचिव विमलीको भनाई छ । उनले छात्रवृत्तिका लागि संस्थागत उद्देश्य अनुरुप कार्यान्वयमा जोड दिएका छन् ।

झापा जिल्लामा उक्त कार्यक्रममा २१ वटा सहकारी संस्थाहरुले सहकार्य गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares