बजारमा आयो एनएमसी सिटीसी चिया
बिर्तामोड । नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको हो ।
आइतवार एनमएमसी बिर्तामोड कार्यालयमा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उपे्रतीले एनएमसी ब्राण्डका चिया प्याकेट सार्वजनिक गरेका हुन् । उनले चिया पारखीका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रीन टी र सीटिसी चियाका प्याकेटहरु बजारमा ल्याएको बताए ।
नेपाली बगानमा उत्पादित उत्कृष्ट एवम् ताजा चियाको छनोट गरी विज्ञको परामर्श र रोहवरमा मिश्रण गरी उपभोक्ताको चाहना अनुसारको कडा तथा छिटो रङ आउने चियाका प्याकेट बजारमा ल्याइएको चिया विज्ञ कमल भारतीले बताए । उनले एनएमसी ब्राण्डका चियाको गुणस्तर राम्रो भएको दाबी गरे । चिया पारखीहरुको मागलाई पुरा गर्न सिटीसी चिया बजारमा ल्याएको बताए ।
२०५० सालमा स्थापना भएर एनएमसी सहकारीले हाल पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । त्यसमा २०७८ असारदेखि एनएमसी चिया उद्योग सुरु भएको हो । मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसीको चिया उद्योय सञ्चालनमा छ । चिया व्यवसाय विस्तारका क्रममा २०७८-०७९ मा इलामका ३ वटा चिया सहकारी संस्थासँग एकीकरण भएको थियो । एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानहरुद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्दै आएको छ ।
सो आर्थिक वर्षमा ७५ हजार केजी तयारी अर्र्थोडक्स चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा विक्री गरिएको एनएमसी सहकारीका अध्यक्ष उप्रेतीले बताए । उनले किसानबाट खरिद गरी चिया उत्पादन र विक्री वितरण भइरहेको जानकारी दिए । निकट भविष्यमा एनएमसीले मह उत्पादन गर्ने लक्ष्य राखेको छ ।