बिर्तामोड । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले २७ औं बार्षिकोत्सव तथा २९ औं साधारण सभा बिर्तामोडमा सम्पन्न गरेको छ । संस्थाले बिर्तामोड क्षेत्रका सदस्यहरुको सहभागितामा सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा विर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले सहकारीको ऋण तिर्नुपर्दैन भन्नेहरुका कुरा नसुन्न आग्रह गर्दै पहिले विजुलीको विल तिर्नुपर्दैन भन्नेहरुको जस्तै हुने बताइन् । माओवादीले सशस्त्र आन्दोलन गर्दै गरेको अवस्थामा विजुलीको विल तिर्नुनपर्ने भन्दै तिर्न दिइएको थिएन, तर पछि हर्जनासहित तिर्नु परेको थियो । लाखौं बचतकर्ताको रकम जोखिममा नपार्न मेची सहकारी जस्ता नीति र विधिमा चलेका सहकारीमा लाग्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले यो बर्ष सकेसम्म बाह्य कर्जा नलिने नीति लिएको जानकारी गराएका छन् । भट्टराईले बाह्य कर्जाका कारण संस्थालाई पर्न सक्ने अप्ठ्यारोको महसुस यसपटकको आर्थिक मन्दीमा गरिएको बताउँदै गत आर्थिक बर्षमा १७ करोड ६० लाख रुपैयाँ बाह्यकर्जा घटाएको पनि उल्लेख गरेका छन् ।
उनले संस्थाका सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस बर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको बर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक बिद्यालय, टोल बिकास संस्था र अन्य गैह्रनाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराइने, यस बर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको पनि उल्लेख गरे ।
सहकारी आवास र उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माणको योजना पनि संस्थाले ल्याएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् । सहकारीले दमकमा सहकारी आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । यस बर्ष शुरु हुने सहकारी आवास बिर्तामोड क्षेत्रमा निर्माण गरिने सम्भावना रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो बर्ष संस्थाले १० करोड नाफा कमाउन सफल भएको जानकारी दिए । उनले आगामी बर्ष १६ करोड नाफा कमाउने लक्ष्य राखेको पनि जानकारी दिए । त्यस्तै २ हजार ७ सय ५० जना सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले जानकारी दिएका छन् । ती सदस्यमध्ये ४५० जना सदस्य विर्तामोड क्षेत्रका हुने उनको भनाइ थियो ।
संस्थामा अघिल्लो बर्ष ३५ करोड ५५ लाख ७८ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ गत आर्थिक बर्षमा थप भएको जानकारी दिइएको थियो ।
संस्थाको अघिल्लो बर्ष २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १ करोड ९० लाख रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको र ९९ प्रतिशत असल कर्जा रहेको प्रतिवेदनमा उल्लेख छ । ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको यो संस्थाले गत आर्थिक बर्ष २०७९-०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड भन्दा बढी कर तिरेको पनि कार्यकारी प्रमुख बगालेले जानकारी दिए ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक हरिप्रसाद चापागाईंले प्रस्तुत गरेका थिए ।संस्थाले ७ वटा इकाइगत साधारण सभा गरी भदौ १२ गते यसबर्षको प्रमाणीकरण साधारणसभा गर्ने जानकारी दिइएको छ ।
कार्यक्रममा विर्तामोडका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका विर्तामोड शाखा प्रमुख विवेक डाँगी, कर्णाली सहकारीका अध्यक्ष टसबहादुर प्रधान लगायतका वक्ताले मेची सहकारीको वित्तीय अवस्था मजबुत रहेको चर्चा गरेका थिए । कार्यक्रम विर्तामोड सेवाकेन्द्रका संयोजक उत्तम खनालको अध्यक्षता, सेवाकेन्द्र सञ्चालक समिति सदस्य कमला आचार्यको स्वागत र विर्तामोड सेवाकेन्द्र प्रमुख दुर्गा खनालको स्थानीय वित्तीय अवस्थाबारे जानकारीसहित सम्पन्न भएको थियो ।







प्रतिक्रिया