Banner news

सहाराले नाम जस्तै काम गर्दैछ : सभामुख

सहाराले नाम जस्तै काम गर्दैछ : सभामुख


बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकरी संस्थाले नाम अनुसारकै काम गरिरहेको सभामुख देवराज घिमिले बताएका छन् । संस्थाको २७ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण भेलालाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् ।

समाजवादउन्मुख राष्ट्रका लागि सहकारी अभियानले कोशेढुंगाको काम गरिरहेको बताउँदै सभामुख घिमिरेले सहारा नेपाल साकोसले आपत विपतमा परेकाहरुका लागि नाम अनुसारको सहारा प्रदान गरिरहेकोमा खुसी व्यक्त गरे ।
सहकारी संस्थाहरु स्वनियमनमा चल्ने ‘मिनी स्टेट’ हुन् तर सरकारी तवरबाट अनुगमन नियमनका नाममा नियन्त्रणका प्रयास भइरहेको आफूलाई रिपोर्टिङ आएको जनाउँदै सभामुख घिमिरेले ऐनअनुसार विधिपूर्वक सञ्चालन भइरहेका सहकारीमाथि अंकुश लगाउन नहुने प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगद १ लाख १ हजार सहित राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार अग्रज सहकारी अभियन्ता भक्तपुर निवासी कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरेको छ । सो समारोहमा एभिन्यूज टेलिभिजनका झापा संवाददाता सन्तोष न्यौपानेलाई २५ हजार रुपैयाँसहित सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

शेयर पुँजी, निक्षेप कारोबार, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले एक लाख एक हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रधानाङ्गलाई प्रदान गरेको हो ।

हरेक २–२ वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित अन्तिम माइन्युट प्रमाणित साधारण सभामा राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार प्राप्त गरेका सहकारी विज्ञ प्रधानाङ्गले काठमाडौं उपत्यकामा सञ्चालित केही सहकारी संस्थाहरुले सहकारी अभियानमा कालो दाग लगाइदिएको टिप्पणी गरे ।

सहाराले आफूलाई पुरस्कृत गरेकोमा आभार प्रकट गर्दै प्रधानाङ्गले सहकारी अभियानले गरिबलाई सहारा नेपालले जस्तै आर्थिकरुपमा माथि उठाउनुपर्ने बताए । तर, काठमाडौंमा खुलेका केही सहकारीले गरिबको रकम खाएर भागेर अभियानमाथि नै कलंकको टिका लगाइदिएको उनको टिप्पणी छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले उक्त समारोहमा २७औं वार्षिक साधारणसभाको इकाई भेलादेखि प्रमाणिकरणसम्मको कार्यक्रमहरुका बारेमा हललाई अवगत गराएका थिए । उनले संस्थाले चालू आर्थिक वर्षबाट थालनी गरिने विभिन्न रचनात्मक कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा २०८० असार मसान्तसम्म १ लाख ५७ हजार ६०६ जना शेयर सदस्य रहेका छन् भने शेयरपुँजी एक अर्व ६३ करोड १४ लाख रहेको गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाको वित्तीय अवस्था जगेडाकोष १ अर्व २३ करोड़, अन्य कोष ३७ करोड ९६ लाख, बचत १० अर्व ९५ करोड ४९ लाख, लगानीमा रहि रहेको ऋण ११ अर्व २० करोड ५५ लाख, भौतिक सम्पति ५० करोड ७५ लाख र बाह्य ऋण ५७ करोड २८ लाख रहेको छ भने वासलात १५ अर्ब ४८ करोड २९ लाख पुगेको छ ।

हालको जटिल परिस्थितिमा पनि संस्थाले यस वर्ष ३९ करोड ८६ लाख खुद मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले यस आर्थिक वर्ष भित्र १० सेवा केन्द्र थप गरी ९० सेवा केन्द्र, २ लाख सदस्य र १९ अर्वको वासलात बनाउदै ६२ करोड नाफा कमाउने उदेश्य लिएको छ ।

शेयर गर्नुहोस :

0
Shares