जेष्ठ १२, २०८२ आईतबार

मुक्तिचोकमा वाटर एटिएम राख्ने बिर्तामोड खानेपानीको योजना

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीलाई चिस्यान गरी जारमा विक्री वितरण गर्ने योजना अघि सारेको छ । संस्थाका अध्यक्ष मेघराज बास्तोलाले संस्थाद्वारा उत्पादित पानीलाई उपभोक्ताको माग बमोजिम जारमा वितरण गर्ने योजना सार्वजनिक गरेका हुन् ।

उनले संस्थाको २१ औं बार्षिक साधारणसभामा प्रतिवेदन सार्वजनिक गर्दै बिर्तामोडको मुक्तिचोक क्षेत्रमा वाटर एटिएम स्थापनाका लागि सरकारी निकायसँग सहकार्य गर्ने बताए । संस्थाका अध्यक्ष बास्तोलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समस्या तथा चुनौतीहरु, भावी योजनाहरु प्रस्तुत गरेको थिए । अध्यक्षको प्रतिवेदन अनुसार हाल तीन वटा ओभरहेड टुयांकी, १५ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लान्ट र नौ हजार उपभोक्ताहरु छन् । बढ्दो सहरी करण र बसाई सराईका कारण उपभोक्ताको माग धान्न चुनौचि भइरहेको बताए । उनले भौतिक पूर्वाधार विकासका क्रममा पानी वितरणको संरचनामा धेरै क्षति पुगेको साधारणसभामा जानकारी गराए ।

संस्थाका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

अध्यक्ष बास्तोलाले लामो समयदेखि जडान भएका डिप बोरिङबाट समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संस्थाले यसै आर्थिक बर्षको पौषसम्ममा टेकबहादुर बसपार्कमा एक थान, संस्थाले २ नम्बर ट्यांकी छेउमा खरिद गरी एक थान र ३ नम्बर ट्याङ्की छेउ मेहरमान स्मृति प्रतिष्ठानले निःशुल्क उपलब्ध गराएको जग्गामा एक थान डिप बोरिङ जडान गरिसकेको र यसै बर्ष थप दुई वटा बोरिङ जडान गरिने अध्यक्ष बास्तोलाले बताए ।

उनका अनुसार संस्थाको कार्यक्षेत्र भित्रका अति आवश्यक स्थानमा उपभोक्ताको माग अनुसार पाइपलाइन बिस्तार, उपयुक्त कार्यालय भवन निर्माण, ४ वटा स्कीमबाट १० वटा समर्सिवल पम्पले दैनिक १ करोड ९३ लाख लिटर पानी उत्पादन गरी २४ सै घण्टा पानी उपलब्ध गराइएको छ । त्यस्तै पानी शुद्धिकरणका लागि २ वटा फिल्टर मिडियो जडान, सुरक्षाका लागि वाल कम्पाउण्ड ग्रील निर्माण, कार्यसमिति र कर्मचारीको क्षमता अभिबृद्धिका लागि अभिमूखिकरण लगायतका कार्यक्रम सञ्चालन गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा आम्दानी ७ करोड ६३ लाख ७ हजार २४१ रुपैयाँ ८९ पैसा र खर्च ४ करोड ३४ लाख ५९ हजार ४९९ रुपैयाँ भई ३ करोड २८ लाख ४७ हजार ७४२ रुपैयाँ २८ पैसा बचत रहेको छ । यस आवको शुरुमै बैंक तथा नगद गरी १ करोड ६३ लाख ९८ हजार ७७२ रुपैयाँ ५३ पैसा भएको कोषाध्यक्ष रिजालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सोही कार्यक्रमकाबीच जेष्ठ उत्कृष्ट उपभोक्ताको रुपमा चन्द्रबहादुर खड्का र कान्तीदेवी शाहलाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारीका रुपमा प्लम्बर प्रकाश शिवा दर्जीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, मेची आँखा अस्पतालका अध्यक्ष तथा संस्थाका निबर्तमान अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर निवर्तमान मेयर ध्रुव शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : माघ २७, २०८० शनिबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]