अर्जुनधारा

अर्जुनधारालाई १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि

अर्जुनधारालाई १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि


भद्रपुर – १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । अर्जुनधारा लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको छ ।

अर्जुनधाराले १६ स्वर्ण, १५ रजत र १२ कास्यसहित च्याम्पियन बनेको हो । अर्जुनधाराले सबैभन्दा बढी एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ३ कास्य, करातेमा ४ स्वर्ण र १ कास्य, तेक्वान्दोमा ३ स्वर्ण, ६ रजत र ३ कास्य, उसुमा १ स्वर्ण, ७ रजत र ४ कास्य र भलिबलमा कास्य पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता जगन कार्की दुर्वासाले जानकारी दिए ।

प्रतियोगितामा मेचीनगरले दोस्रो स्थान हासिल गरेको छ । मेचीनगर ११ स्वर्ण, १२ रजत र १३ कास्य पदक प्राप्त गर्दै दोस्रो भएको हो । मेचीनगरले उसुमा ५ स्वर्ण, एथलेटिक्समा ४ स्वर्ण, भलिबल र करातेमा १–१ स्वर्ण जित्न सफल बन्यो । यसैगरी, तेस्रो स्थानमा बिर्तामोड नगरपालिका रह्यो । उसले ८ स्वर्ण, ८ रजत र १३ कास्य पदक जित्दै तेस्रो बनेको हो । विर्तामोडले उसुमा ४ स्वर्ण जितेको छ । यस्तै, कराते र एथलेटिक्समा २–२ स्वर्ण जितेको हो ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरुमा ४१८ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जिल्लाभरिका १८ वर्षमुनिका छात्रछात्रा गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

सोमबार झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा शनिश्चरे माविको प्रांगणमा आयोजित समापन समारोहमा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, नेपाली कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईं, झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेलगायतले विजेता खेलाडी तथा टिमलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता अर्जुनधाराका विभिन्न पाँचवटा विद्यालयमा खेलहरु सञ्चालन गरिएको समितिकी उपाध्यक्ष गंगाा भुर्तेल कोइरालाले जानकारी दिइन् ।

शेयर गर्नुहोस :

0
Shares