मनोरञ्जन

गायकदेखि निर्देशनको यात्रामा प्रकाश सपूत, ‘वसन्त’मा ल्याउँदैछन् उत्पीडनको कथा

गायकदेखि निर्देशनको यात्रामा प्रकाश सपूत, ‘वसन्त’मा ल्याउँदैछन् उत्पीडनको कथा


एकराज प्रधान

समाजलाई केन्द्रमा राखेर परिवर्तनको भाका बोल्ने चर्चित गायक हुन् प्रकाश सपूत । नेपाली सांगीतिक क्षेत्रमा उनी एक सुपरस्टार हुन् । आफूले लेखेका हरेक गीतलाई उनले फरक ढङ्गमा म्युजिक भिडियोमार्फत दर्शकमाझ ल्याइरहेका छन् ।

प्रकाश सपूतका गीतहरुलाई दर्शकले खुब रुचाएका छन् । गीतसँगै रचिएको कथाहरुमा धेरै दर्शकले आँशुको बगाएका छन् ।

उनले ‘बोल माया’ गीतमा परदेशको पीडा लेखे । परदेशमा जीवन गुमाउनेहरुको व्यथा लेखे । रित्तो गाउँ अनि परदेशीलाई पर्खिएर बसेकाहरुको रोदन सुनाए ।

त्यसपछि बोलमायासँगै कथा जोडिएको ‘गलबन्दी’बाट श्रोता-दर्शकलाई छमछमी नचाए । त्यसकै अर्को भागका रुपमा दमाइ महाराज ल्याए । जसमा उनले भनेका छन्, ‘कुनै जात घरभित्र वा मन्दिर पस्तैमा भगवान बिटुलो हुँदैनन् ।’

उनको अर्को गीत ‘पीर दियो’ बोलको गीतले देश बदल्छु भनेर युद्धमा होमिएकाहरुको कथा बोल्यो । केही सिप नलागेपछि अन्त्यमा विदेशिन बाध्य हुनु परेको दृश्य हेर्नु पर्दा दर्शकको मुटु नै चुँडिएजस्तो हुन्छ । टाठोबाठोको राज र निमुखाको बाध्यता देखाइएको यो गीतको अन्त्यमा उनले प्रश्न गरेका छन् – आखिर देश भनेको के हो ?

त्यस्तै उनको अर्को गीत ‘सकम्बरी’मा नारीहरुलाई पुरुषप्रधान समाजले हेर्ने दृष्टिकोणलाई छर्लङ्ग पारेका छन् । नारीहरु पुरुषबाट कतिसम्म पीडित छन् र समाजले उनीहरुलाई कुन नजरबाट हेरेको छ भन्ने कुरालाई भिडियोमार्फत् बुझाउन खोजेका छन् । एउटी फूलमाया कसरी सकम्बरी बनिन् भन्ने कथा गीतमा रहेको छ । ‘कल्ले किन्दियो ?’ भन्ने बोलको यो गीतले पुरुषप्रधान समाजलाई व्यङ्ग्य गरेको छ ।

‘मेरो पनि होइन र यो देश’ जस्ता गीतबाट गहकिला कुरा उठाएर लोकप्रिय बनेका सपूतले एउटा नयाँ चलचित्र लेखेका छन् । भर्खरै उनले आफ्नो पहिलो चलचित्रको टाइटल पनि अनाउन्स गरेका छन् – बसन्त ।

बागलुङको धम्जामा एक दलित परिवारमा जन्मिएका प्रकाश सपूतले यो चलचित्रमा दलितले भोग्नु परेको असह्य पीडालाई लेखेको कुरा उनले सार्वजनिक गरेको भिडियोले महसुस गराउँछ ।
भिडियोमा सुरुमा प्रकाशले डाइरी र कुपीको दृश्यसँगै लेख्नुको अर्थ बुझाउँछन् । ड्रोनले सलल उडेर एउटा पहाडी गाउँ र्पुयाउँछ । सिनसँगै गुञ्जिन्छ, ‘जीवन पीरको भरिया…’ । त्यसपछि आरन तान्दै गरेका कमलमणि नेपाल देखिन्छन् । जो आफ्नो छोरोको कुरा प्रकाश घिमिरेलाई सुनाउँदैछन् ।

रातो डायरी देखिन्छ, उनका छोरोको रुपमा देखिने प्रकाश सपूतले एउटा ओझिलो कविता सुनाउँछन् । जसमा उनले दलित भएकोमा समाजले दिएको व्यथालाई सुनाएका छन् । चलचित्रमा सानो सानो दृश्यहरुलाई पनि निक्कै महत्वका साथ छायांकन गरिएको छ । ती दृश्यहरुलाई केवल आँखाले मात्रै हेर्दैन, पात्रहरुको पीडालाई मनले महसुस गर्छ । यसकारण पनि उनकै निर्देशनमा बन्न लागेको यो फिल्म यो वर्षकै बहुप्रतिक्षित बन्ने देखिन्छ ।

भिडियोमा लेखकको पछाडि झुन्ड्याइने उपनाम बारे अनुप बराल सहितले गर्दै गरेको छलफलले निकै गम्भीर व्यङ्ग्य गरेको छ । दलितको थर लुकाउन एउटा लेखकले उपनामको सहारा लिनु पर्ने ? भन्ने सवाल दृश्यले गर्छ । सामान्य कुरालाई पनि मौलिकताबाट मजाकिलो बनाउँदै प्रकाश सपूत सोध्छन्, ‘कसैको नाम उसको काम भन्दा ठूलो हुन्छ र ?’

कापीको पानामा वर्ण र व्यवस्थाले सदियौँदेखि न्याकिएको एउटा तप्का लेखिएर, त्यसको छोटो रुपबाट टाइटल बन्छ । सपूतको यो सिर्जनशीलतालाई तारिफ नगरी रहनै सकिन्न ।

यो फिल्ममा प्रकाश सपूतलाई जोडीका रुपमा साथ दिँदैछिन् चर्चित नायिका स्वस्तिमा खड्काले । जमेट्री बक्समा बसन्त प्लस शान्ति लेखिएको एउटा दृश्यले स्कूल छाडेकाहरुलाई फेरि स्कूलका दिनहरु सम्झाइदिन्छ । अनि लास्टमा पानामा टाँसिएको फोटो, रुखमा खोपिएको शान्ति प्लस वसन्त लेखिएको दृश्यले त्यो समयलाई यथार्थमा भोग्नेहरुलाई आफ्नोपन फिल गराइदिन्छ ।

‘वसन्त’ उत्पीडन भोगेको एउटै समाजको छुट्टै कथा हो । प्रकाशले भनेका छन्, जात र समाजभन्दा माथि रहेको एउटा जिद्दी प्रेमको कथा हो । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मको कथा संगीत र निर्देशन प्रकाश सपुत आफैँले गरेका हुन् । चलचित्रको कार्यकारी निर्माताका रुपमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

परदेशी-२ बाट हिरो बन्न खोजेका उनलाई दर्शकले नायकका रुपमा खासै स्वीकारेनन् । परदेशी बनेर जम्न नसके पनि वसन्त भएर उनी फेरि दर्शकमाझ आफ्नो परीक्षा दिन फर्किएका छन् ।
कथा आफ्नै, निर्देशन आफ्नै अनि लिडरोल पनि आफ्नै । आशा छ, उनी यसपालि सफल हुनेछन् । चलचित्रको रिलिज डेट २०८१ को चैते दशैं राखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares