चैत्र १३, २०८१ बुधबार

छुटेका बालबालिकालाई जेठ १३ देखि पोलियो खोप दिइने

बिर्तामोड । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्ने भएको हो ।

विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरुलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी रहेको महाशाखाले जनाएको छ ।

नेपालले सन् २०१४ बाट सुईबाट दिइने पोलियो विरुद्धको खोप (आईपीभी) सुरू गरे पनि २०१६ देखि २०१८ को मध्यसम्म विश्वव्यापी रुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो ।

त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरु आईपीभी खोपबाट पाउनबाट बञ्चित भएका थिए । उक्त खोपबाट बन्चित भएका बालबालिकाहरु पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै खोप दिन लागिएको हो ।

‘दुई वर्षको अवधिमा १४ लाख ६२ हजारको हाराहारीमा आईपीभी खोपबाट वञ्चित भएको छन् । ती बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम स्कुल–स्कुल तथा स्थानीय स्तरको स्वास्थ्य संस्थामा गएर खोप दिइनेछ,’ गौतमले भने ।
उसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण जोखिम कायमै रहेकोले पोलियो खोप लगाउन परेको हो ।

खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन (गाभी)को ठूलो सहयोग रहेको छ ।
डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकाहरुलाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आइपीभी लिईसकेको र पछि जन्मेर सो खोप लिईसकेकाहरुले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे ।

प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]