Banner news

मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’

मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’

(FILES) Bangladeshi Nobel peace laureate Muhammad Yunus prepares to leave after filing an appeal for the extension of his bail at Labour Appellate Tribunal in Dhaka on March 3, 2024. Student leaders in Bangladesh on August 5, demanded Nobel winner Muhammad Yunus lead a caretaker government, a day after the military took control as mass demonstrations forced longtime ruler Sheikh Hasina to flee the country. (Photo by REHMAN ASAD / AFP)

ढाका । नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् ।

‘गरिबहरूमा सबैभन्दा गरिबका लागि बैंकर’ का रूपमा चिनिने ८४ वर्षीय युनुसलाई ग्रामीण महिलाहरूलाई सानो नगद रकम ऋण दिएर उनीहरूलाई कृषि उपकरण वा व्यापार उपकरणमा लगानी गर्न र उनीहरूको आम्दानी बढाउन भूमिका निर्वाह गरेकामा सन् २००६ मा नोबेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो ।

उहाँद्वारा स्थापित लघुवित्त ऋणदाता ग्रामीण बैंकलाई बङ्गलादेशमा व्यापक आर्थिक विकासमा सहयोग पुर्याएकामा प्रशंसा गरिएको थियो । त्यसपछि उहाँको कामलाई धेरै विकासोन्मुख मुलुकले अनुकरण गरेका छन् ।

(Photo by REHMAN ASAD / AFP)

युनुसले आफ्नो नोबेल व्याख्यानका क्रममा भन्नुभएको थियो, “मानिसहरू भोक र गरिबीको पीडा भोग्न जन्मिएका होइनन् ।”

तर बङ्गलादेशमा उहाँको सार्वजनिक प्रोफाइलका कारण उहाँले हसिनासँग शत्रुता कमाउनुभयो । हसिनाले एक पटक उहाँमाथि गरिबहरूको ‘रगत चुस्ने’ आरोप लगाउनुभएको थियो ।

सोमबार हतारमा राजीनामा दिएर बङ्गलादेश छाड्नुअघि हसिनाको १५ वर्षको कार्यकाल असहमतिको बढ्दो असहिष्णुता थियो र युनुसको लोकप्रियताले उहाँलाई सम्भावित प्रतिद्वन्द्वीका रूपमा देखायो ।

सन् २००७ मा युनुसले बङ्गलादेशको टकरावपूर्ण राजनीतिक संस्कृतिलाई अन्त्य गर्न आफ्नै ‘नागरिक शक्ति’ पार्टी स्थापना गर्ने योजना घोषणा गर्नुभयो तर अस्थिरता र सैन्य शासनको अवधिका कारण बीचैमा रोकियो ।

उहाँले केही महिनामै ती महत्त्वाकांक्षा त्याग्नुभयो तर सत्तारूढ अभिजात वर्गलाई चुनौती दिएपछि उत्पन्न भएको शत्रुता कायमै छ ।

युनुसमाथि एक सयभन्दा धेरै आपराधिक मुद्दा दर्ता गरिएका थिए र राज्यको नेतृत्वमा रहेको इस्लामिक एजेन्सीले उहाँमाथि समलैङ्गिकतालाई बढावा दिएको आरोप लगाउँदै बदनामीको अभियान चलाएको थियो ।

सरकारले सन् २०११ मा उहाँलाई अनौपचारिक रूपमा ग्रामीण बैंकबाट निष्कासित गर्यो । उक्त फैसलाविरुद्ध युनुसले कानूनी लडाइँ लड्नुभयो तर बङ्गलादेशको सर्वोच्च अदालतले फैसलालाई कायमै राख्यो ।

जनवरीमा उहाँ र उहाँले स्थापना गरेको कम्पनीमध्येको एकका तीन सहयोगीलाई छ महिनाको जेल सजाय सुनाइएको थियो तर ढाका श्रम अदालतले पेन्डिङ अपिलमा तुरुन्त जमानत दियो । उहाँहरूमाथि अवैध रूपमा श्रमिकहरूको कल्याण कोष बनाउन असफल भएको आरोप लगाइएको थियो ।

चारैजनाले आरोपलाई अस्वीकार गर्नुभएको थियो र अदालतमाथि हसिनाको सरकारद्वारा ‘रबर स्ट्याम्पिङ’ निर्णय गरेको आरोप लगाउनुभएको थियो । उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत निगरानीकर्ताहरूले राजनीतिक रूपमा प्रेरितका रूपमा आलोचना गरेका थिए ।

सोमबार हसिनाको पदच्यूतका साथ विरोध प्रदर्शन समाप्त गरेका विद्यार्थी नेताहरूले युनुसको नेतृत्वमा कामचलाउ सरकारको माग गर्न सेनासँग भेट्ने अपेक्षा गरिएको थियो ।

युनुसले नेतृत्व गर्न गरिएको आग्रहमाथि कुनै टिप्पणी गर्नुभएको छैन तर उहाँले भारतको द प्रिन्टसँगको अन्तरवार्तामा बङ्गलादेश हसिनाको अधीनमा ‘कब्जा गरिएको देश’ थियो भन्नुभयो । उहाँले भन्नुभयो, “आज बङ्गलादेशका सबै जनताले स्वतन्त्र महसुस गरिरहेका छन् ।”

गरिबी मेरो वरपर

युनुसको जन्म सन् १९४० मा तटीय सहर चटगाउँमा सम्पन्न परिवारमा भएको थियो । उहाँका बुबा सफल सुनार हुनुहुन्थ्यो ।

आफ्नो सबैभन्दा ठूलो प्रभावका रूपमा उहाँले आफ्नी आमालाई श्रेय दिनुहुन्छ । आमाले आफ्नो ढोका ढकढक्याउने खाँचोमा परेका जोकोहीलाई सहयोग गर्न हौसला प्रदान गर्नुभयो ।

युनुसले संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न फुलब्राइट छात्रवृत्ति प्राप्त गर्नुभयो र सन् १९७१ को क्रुर युद्धमा बङ्गलादेशले पाकिस्तानबाट आफ्नो स्वतन्त्रता हासिल गरेलगत्तै फर्किनुभयो ।

स्वदेश फर्किएपछि उहाँलाई चटगाउँ विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुखमा नियुक्त गरियो तर युवा मुलुकले भीषण अनिकालको सामना गरिरहेको थियो र उहाँ व्यावहारिक कदम चाल्न बाध्य हुनुभयो ।

“गरिबी मेरो चारैतिर थियो र म यसबाट टाढा जान सकिनँ”, सन् २००६ मा उहाँले भन्नुभएको थियो, “मलाई विश्वविद्यालयको कक्षामा अर्थशास्त्रको सुरुचिपूर्ण सिद्धान्त पढाउन कठिन भयो, म आफू वरपरका मानिसहरूको सहयोगका लागि तत्काल केही गर्न चाहन्थेँ ।”

परम्परागत बैंक ऋणका लागि योग्य हुन नसक्ने गरिब मानिसहरूलाई ऋण प्रदान गर्ने तरिकामा वर्षौंसम्म प्रयोग गरेपछि उहाँले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गर्नुभयो ।

बैंकको सबैभन्दा पछिल्लो वार्षिक प्रतिवेदन ९२०२०० अनुसार संस्थासँग अहिले ९० लाखभन्दा बढी ग्राहक छन् र यसका ९७ प्रतिशतभन्दा बढी उधारकर्ता महिला छन् ।

युनुसले आफ्नो जीवनको कामका लागि धेरै उच्च सम्मान प्राप्त गर्नुभएको छ । यसमा बाराक ओबामाले प्रदान गर्नुभएको अमेरिकी राष्ट्रपति पदक पनि समावेश छ ।

शेयर गर्नुहोस :

0
Shares