अर्जुनधारा

अर्जुनधारामा हर्षोल्लासका साथ मनाइयो विश्व आदिवासी दिवस

अर्जुनधारामा हर्षोल्लासका साथ मनाइयो विश्व आदिवासी दिवस


इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारामा ३० औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ हर्षोल्लास सहित शुक्रबार मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदद्वारा अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजार स्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा स्थानीय नेवाः देय दवुका कलाकारहरुले लाखे नाच, नेपाल तामाङ धेदुङले सेलो नृत्य, किराँत याक्थुङ केलाङ समाजले केलाङ नृत्य, किराँत राई यायोक्खाका कलाकारहरुले मनोरञ्जनात्मक साकेला नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै चर्चित कलाकार सन्तोष आले मगरले हामी अर्जुनधारा बासी भन्ने गीत प्रस्तुत गरेका थिए । त्यसैबीच सहभागी कलाकारहरुले एकल तथा सामुहिक नृत्य , गायन प्रस्तुत गरेका थिए । नेपाल आदिवासी, जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष कर्णबहादुर तामाङको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यतामा परिषदका सल्लाहकार सदस्य कृष्ण थेबेले कार्यक्रमको औचित्य माथि पार्दै सन १९९३ मा विश्व आदिवासी घोषणा भई सन् १९९५ देखि आदिवासी दिवस विश्वभर मनाउन थालेको बताए ।

सोही अवसरमा खेलकुद क्षेत्रमा योगदान पु¥याउने फुटबल प्रशिक्षक भगिरथ आले मगर (मामा ) , फिफा रेफ्री श्याम दनुवार, कराँते खेलाडी इन्दिरा राईलाई सम्मान गरिएको थियो । परिषदका सचिव बिजय साम्पाङ राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देनले शुभकामना मन्तव्य राख्दै आदिवासी, जनजातिको परम्परागत भाषा, संस्कार–संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

राज्यले आदिवासी ,जनजातिका लागि आरक्षण (कोटा) दिएको छ । जल, जमिन, जंगल आदिमा पनि अधिकार हुनुपर्छ उनको भनाइ थियो ।

अर्का विशिष्ट अतिथि एवं आदिवासी, जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पाण्डवलाल चौधरीले हिन्दू सनातन भन्दा आदिवासी, जनजाति फरक भएको बताए । राष्ट्रिय भाषाको रुपमा बोलिने सबै जातजातिको आफ्ना–आफ्नै मातृ भाषा छ । आदिवासी , जनजातिको हक अधिकार सुनिश्चित गराउनका निम्ति कोशी प्रदेश खारेज गरी पुनःनामांकन गर्न आफ्नो संगठन प्रदेश नम्बर १ भरि आन्दोलित रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, वडा नम्बर १० का भूपेन्द्र न्यौपाने , वडा नम्बर ११ का खगेन्द्र इङनाम , परिषद्का सल्लाहकार सदस्य कुसुम राई, उपाध्यक्ष भीमकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि झाँकीसहित–याली निकालेर नगर परिक्रमा गरिएको थियो । कार्यक्रममा सहभागी प्रमुख अतिथि ,विशिष्ट अतिथि ,अतिथिहरुलाई माया चिनो प्रदान गरिएको सचिव साम्पाङले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares