Banner news

कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता

कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता


झापा, १९ भदौः कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०-८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।

जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

“निवेदन धेरै परेको थियो, बजेट थोरै थियो”, उहाँले भन्नुभयो, “सुरुमा निवेदन दिनेले पाउनुभयो, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ।” सरकारले चालू आवमा रु पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।

कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ । जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको नयाँ कार्यविधि अनुसार विरामीले अबदेखि मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ । नयाँ कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन ।

“नयाँ कार्यविधि बन्यो, कार्यान्वयन हुन बाँकी छ । पुरानो निस्क्रिय भइसक्यो”, उहाँले भन्नुभयो, “निवेदन लिएका पुराना सेवाग्राहीले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ । उहाँहरुलाई रकम दिन अब प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ ।”

उहाँले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिनुभयो । प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९-८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares