मुख्य समाचार

एमाले नेता तथा कार्यकर्तालाई उद्धारमा जुट्न आग्रह

एमाले नेता तथा कार्यकर्तालाई उद्धारमा जुट्न आग्रह


काठमाडौँ, १२ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई बाढीपहिरोको उद्धारमा परिचालन हुन आग्रह गर्नुभएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै अस्वाभाविक रूपमा भएको वर्षापछि बाढी तथा पहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै यस विपद्मा पार्टी कमिटी, जनप्रतिनिधि र जनवर्गीय सङ्गठनहरू समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गर्नुभएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले विपद्को उद्धारमा पार्टी पङ्क्ति तत्परताका साथ जुट्ने समेत बताउनुभयो ।

यसैगरी उहाँले उद्धार तथा राहत कार्यमा जुट्न सरकारसँग विशेष आग्रह गर्नुभएको छ । “सरकारका सबै अङ्गहरू खासगरी सुरक्षा निकायहरूको व्यवस्थित परिचालन, सम्बन्धित मन्त्रालय र निकायको व्यवस्थित र समन्वयात्मक परिचालन आवश्यक छ । यस दिशामा यथोचित ध्यान दिन सरकारसित विशेष आग्रह छ । साथै बाढीपहिरोमा परी बेपत्ताहरूको अविलम्ब खोजी र घाइतेहरूको उपचारमा सरकारको ध्यान दिन आग्रह छ”, विज्ञप्तिमा भनिएको छ । साथै अन्य सबै पार्टी तथा सामाजिक सङ्गठन÷ संस्थाहरूलाई पनि यस काममा परिचालित हुन अनुरोध गरिएको छ ।

यस्तै, आमनागरिकलाई पनि आवतजावतमा विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares