श्रीकृष्ण प्रणामी मन्दिरमा स्वर्ण महोत्सव
कचनकवल । झापाको भद्रपुर–१, लाहुरे चोकस्थित श्रीकृष्ण प्रणामी मन्दिर पृथ्वीनगर बनियानीको स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन शनिवार हुनेछ ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा भारतको पश्चिम बङ्गाल, कालिम्पोङस्थित प्रमुख धार्मिक केन्द्र श्रीकृष्ण प्रणामी मन्दिर मङ्गलधामका गादीपति गुरुजी श्री १०८ मोहन प्राचार्य महाराज सहभागी हुनेछन् । आयोजक समितिका अनुसार उनी शनिवार झापा आउने कार्यक्रम छ ।
स्वर्ण महोत्सव मूल समारोह समितिले जानकारी दिए अनुसार, महोत्सवको सुरुवात सोमबारे बजारबाट बनियानी बजार हुँदै लाहुरे चोकसम्म हुने कलश यात्रासहित गरिनेछ । सप्ताहव्यापी रूपमा सञ्चालन हुने महोत्सव फागुन ३ देखि ९ गतेसम्म जारी रहनेछ । यस अवधिमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, श्रीमत तारतम ब्रह्मवाणी चर्चा तथा विभिन्न धार्मिक एवं आध्यात्मिक कार्यक्रमहरू हुनेछन् ।
महोत्सवको प्रचारप्रसारलाई तीव्र बनाउँदै आयोजक समितिले हालै बाइक ¥याली सम्पन्न गरेको छ । लाहुरे चोकस्थित प्रणामी मन्दिरबाट सुरु भएको सो ¥याली किचकबध, कमलधाप, कचनकवलस्थित बनियाँनी बजार परिक्रमा गर्दै नेपालकै होचो स्थान कचनकवल स्तम्भसम्म पुगेको थियो ।
यसैक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल कचनकवल पृथ्वीनगर प्रारम्भिक समितिको आयोजनामा “दुव्र्यसन त्यागौँ, सेवामुखी बनौँ” नारासहित स्वर्ण महोत्सव म्याराथन सम्पन्न भएको छ । सो म्याराथनमा १५० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
नेपालका विभिन्न धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरूको सहभागिता रहने महोत्सवमा देवघाट कृष्ण कृपाधामकी श्री १०८ तारा माताजीले श्रीमद्भागवत कथा चर्चा गर्नुहुनेछ भने महामती संस्कृत विद्यापीठ, काठमाडौँका आचार्य श्री बिमलचन्द्र दाहालले श्रीमत तारतम सागर बाणी प्रवचन दिनेछन् ।
श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरूका लागि मङ्गलधाम प्रमुख तीर्थस्थल मानिन्छ । नेपाल सरकारको हुलाक सेवाले मङ्गलधामका संस्थापक गुरुजी श्री १०८ मङ्गलदासजी महाराजको सम्मानमा हुलाक टिकटसमेत जारी गरिसकेको छ । उनका उत्तराधिकारी तथा हालका गादीपति गुरुजी श्री १०८ मोहन प्राचार्य महाराज झापा आउन लाग्दा स्थानीय भक्तजनहरूमा उत्साह छाएको छ ।
आयोजक समितिले भक्तजनहरूलाई यस ऐतिहासिक अवसरमा उपस्थित भई धर्मलाभ लिन आग्रह गरेको छ ।