असार ३, २०८२ मंगलबार

बिर्तामोडको विकास रफ्तार : गुणस्तरलाई ख्याल गरौं

सम्पादकीय

बिर्तामोड नगरपालिकाले सडक सञ्जाल विस्तारलाई जुन किसिमले प्राथमिकता दिएको छ, यो एकदमै परिणाममुखी देखिन थालेको छ । नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कले पनि यसको पुष्टि गर्छ । स्थानीय जनताले समेत सडक सञ्जालको विस्तार अनुभूत हुने गरी नगरपालिकाको प्रशंसा गरिरहेका छन् । भौतिक पूर्वाधार निर्माणका क्रममा भएको प्रगति लोभलाग्दो छ । नगरपालिका कार्यालयका अनुसार कालोपत्रे र पेबर्स गरी २१३ किलोमिटरमा काम सम्पन्न भएको छ । सीमित स्रोत साधनका बावजुद नगर क्षेत्रको सडक सञ्जालमा भएको यो प्रगतिलाई सामान्य मान्न सकिँदैन । यसबाहेक ३०६ किलोमिटर सडक ग्राभेल हुनु झन् महत्त्वपूर्ण विषय हो । भौतिक पूर्वाधारका क्षेत्रमा भएको विकास र प्रगति साँच्चै नै प्रशंसनीय छ । यो बीचमा ५९२ वटा आवास निर्माण भएका छन् । ९० वटा भवन मर्मत गरिएको छ । ६ वटा प्रशासनिक भवन बनेका छन् । ३१ किलोमिटर सडकमा नाला अर्थात् ड्रेन निर्माण गरिएको छ ।

नगरको विकास निर्माणलाई लिएर बेला(बेलामा आलोचना भएको सुनिन्छ । नागरिक तहबाट गुनासो पनि आउने गरेका छन् । तर, राजनीतिक आग्रह पूर्वाग्रह राखेर गरिने अस्वस्थ आलोचना र गुनासोले सामाजिक रूपान्तरणको अभ्यासमा अर्थ राख्दैन । विकास जनताको दैनिकीसँग सम्बन्धित नियमित प्रक्रिया हो । यो प्रक्रियालाई परिणाममुखी बनाउन जनप्रतिनिधिको दृढ इच्छाशक्ति, कार्यकुशलता र इमान्दारिता चाहिन्छ । यसमा बिर्तामोड नगरपालिकाको नेतृत्व दृढ र प्रतिबद्ध रहेको पाइन्छ । जनताको नियमित कार्यसम्पादनमा नगरको नेतृत्वले अवलम्बन गरेको पद्धतिले विकासका कामलाई तीव्रता दिन झन् सजिलो भएको छ । जनताको माग र आवश्यकता बमोजिम एकैपटक सबै काम पूरा नहोलान्, तर ढिलो चाँडो विकासका कामले बिर्तामोडमा गति लिएको विषय कोही कसैले लुकाएर वा छिपाएर राख्न सक्दैन ।

भौतिक पूर्वाधारको गुणस्तर कायम गर्ने सन्दर्भमा समेत नियमित अनुगमन गर्ने, कमजोर वा कम्सल देखिएका वा गुणस्तरहीन काम भएका ठाउँमा तत्काल सुधार गर्न निर्देशन दिने काममा समेत नगरको नेतृत्व संवेदनशीलताका साथ खटिएको छ । उपप्रमुख नेतृत्वको अनुगमन समितिले विकासका कामलाई दिगो, जनमुखी र प्रभावकारी बनाउन खेलिरहेको भूमिका प्रशंसनीय छ । प्राप्त भएको बजेटलाई सही ढङ्गले सदुपयोग गर्ने सन्दर्भमा जनप्रतिनिधिले आफ्ना तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने हो भने अपेक्षाकृत विकासमा कुनै अवरोध हुँदैन । यो मामिलामा बिर्तामोड नगरपालिकाले आफूलाई अब्बल साबित गरेको छ । जनमुखी काममा भइरहेको प्रगति आगामी दिनका लागि नयाँ गोरेटो हो ।

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]