Banner news

निस्सा दिँदा विश्वास गर्नुभएको थिएन, आज विश्वास दिलायौं : मेयर तामाङ

निस्सा दिँदा विश्वास गर्नुभएको थिएन, आज विश्वास दिलायौं : मेयर तामाङ


अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले पुर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुशी भएको बताउनु भएको छ । उहाँले अर्जुनधारामा जग्गाधनी पुर्जा वितरण सुरुवात गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निस्सा वितरण गर्दा धेरैले पुर्जा पाइएला र भन्दै अविश्वास प्रकट गर्नुभएको थियो । अहिले त्यो अविश्वास तोडिएको छ । पुर्जा वितरण गर्न सफल भएका छौं ।’ नगरवासीहरुलाई अब निरन्तर जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभएको छ ।

अर्जुनधारामा बुधबार ९६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई जग्गाको धनीपूर्जा वितरण गरिएको हो । सभामुख देवराज घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा नगरका विभिन्न समस्याहरुको बारेमा मेयर तामाङले सभामुख समक्ष राख्नुभएको थियो । उहाँले खोलामा नम्बरी, नम्बरीमा खोला, सेनाको अभ्यास स्थलको जग्गा समस्या, कम्पनीको नाममा रहेको जमिन र नयाँ बसपार्क क्षेत्रको जमिनको समस्याहरु राख्नुभएको थियो ।

धनीपुर्जा वितरण गर्दै सभामुख घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ । अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गर्नुभयो । वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको संख्यामा बृद्धि भइरहेको बताउनुभयो ।

“धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,” उहाँले भन्नुभयो, “कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ ।” उहाँले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको चर्चा गर्नुभयो ।

भूमि समस्या समाधान आयोग झापाले अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीलाई पुर्जा प्रदान गरेको थियो । सो पुर्जा सभामुखको हातबाट वितरण गरिएको थियो । धनीपुर्जा पाउनेहरु वर्षौअघिको सपना पुरा भएपछि हर्षित भएका थिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिन सुरु गरेको बताउनुभयो । वर्तमान सरकार जनताको सरकार भएकाले पुर्जा वितरणलाई प्राथमिकता दिएको धारणा राख्नुभयो । उहाँले ०२१ सालको भूमि ऐनले वर्तमान समस्याको समाधान गर्न नसक्ने भन्दै नयाँ कानुन निर्माण गरेर समाधान गरेर छोड्ने बताउनुभयो । अब, नयाँ नापजाँच गरेर भूमि सम्बन्धी समस्या समाधान गर्न तर्फ लाग्नुपर्ने उहाँको धारणा थियो ।

शेयर गर्नुहोस :

324
Shares