बिर्तामोड । अस्पतालले डिस्चार्ज गरेको केहि घण्टामा विरामीको अवस्था उस्तै भएपछि सामाजिक सञ्जाल फेसबुकमा परिवारले बच्चाको विक्षिप्त भिडियो नै राखेर निको नभएको र आफूहरु लुटिएको गुनासो गरेका छन् ।
झापा अर्जुनधारा – ५ चाँदनी चोकका रामबहादुर गिरीले आफ्नो नातिनीको उपचारका लागि बिर्तामोडको चिल्ड्रेन हस्पिटलमा १७ दिन राखेको र सबै खर्च गरेर करिव ७ लाख खर्च भएको सञ्जाल मार्फत जानकारी दिएका छन् । ८ महिनाको नातिनी अनुश्री गिरी काप्ने (छारे) विरामी भएपछि गत साउन २ गते चिल्ड्रेन हस्पिटलमा राखेर उपचार गरेका थिए । १९ गते अस्पतालले बच्चालाई डिस्चार्ज दिएको थियो । हस्पिटललाई मात्रै ४ लाख ७६ हजार रुपैयाँ बुझाएको गिरीले जानकारी दिएका छन् ।

सोही दिन राती ९ बजेदेखि बच्चा फेरि काप्न थालेको हजुरवुवाको भिडियो सार्वजनिक गर्दै जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेपछि हस्पिटलले आज पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको छ ।
उपचारमा संलग्न डा. रुपक आचार्यले बच्चाको स्वास्थ्य अवस्था सुधार भएपछि नै डिस्चार्ज गरिएको दावी गरेका छन् । उनले बच्चामा काप्ने (छारे) कम भएपछि हाँस्न र खेल्न समेत थालेको अवस्थामा डिस्चार्ज गरिएको बताए । बच्चा भर्ना गर्दाको अवस्था अत्यन्तै गम्भीर थियो, डा. आचार्यले भने– हामीलाई पहिले त बच्चाको ज्यान बचाउनु थियो । इमरजेन्सीमा भर्ना हुँदा नाजुक अवस्थामा रहेको बच्चा लामो समयको उपचारपछि सुधार भएपछि घर पठाएको हो ।
बच्चा भर्ना हुँदा धड्कन तेज चल्ने, अक्सिजनको मात्रा ८३ प्रतिशत मात्रै थियो । डाक्टरका अनुसार लामो समयसम्म काप्नु आफैमा गम्भीर अवस्था हो । २-५ मिनेटसम्म काप्नु सामान्य भएपनि यो नानीको अवस्थालाई सामान्य लिन सकिदैन थियो, उनले थपे – छारे विरामीको उपचार च्वाट्टै हुदैन । यसलाई कम गर्न सकिन्छ ।

विरामीको हजुरवुवा
सुरुवातमा प्राथमिक उपचार गरेरै कम गर्ने प्रयास गर्दा नभएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरेपछि बच्चाको अवस्था सुधार भएको डा. आचार्यको भनाई छ । बच्चाको एमआरआई समेत गरेर हेर्दा टाउकोको वृत्तिविकास नभएको कुरा परिवारलाई समेत जानकारी गराइएको उनले बताए ।
बच्चाको स्वास्थ्य अवस्था सुधार भएपछि पनि डा. आचार्यले इजी गर्नुपर्छ भन्ने सूझाव दिएको बताए । इजी गर्न परिवारले अस्वीकार गरेको र सिकाए बमोजिम औषधि नखुवाएको हस्पिटलको दावी छ । निमय पूर्वक औषधि नखुवाएकै कारण बच्चामा समस्या दोहोरिएको डा. आचार्यको दावी छ ।
बच्चामा समस्या बल्झिएपछि हजुरबुबाले भिडियो सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक भएपछि हस्पिटलको टिम गिरी परिवारको घर पुगेको थियो । बच्चाको उपचारमा सहयोग गर्ने भन्दा पनि नमानेपछि आफूहरु फर्किएर आएको अध्यक्ष लिला मैनालीको भनाई छ । हस्पिटलको अध्यक्ष मैनालीले संस्थाको बदनाम गर्ने उद्देश्यले भिडियो मार्फत भ्रम छर्ने काम भएको बताइन् । उनले हस्पिटलले सकेसम्म आफ्नो तर्फबाट सबै विरामीहरुलाई गुणस्तरीय उपचार र कमजोर अवस्था भएको परिवारलाई आर्थिक रुपमा छुट समेत दिदै आएको जानकारी दिएकी छन् ।
उता, विरामीको हजुरवुवाले हस्पिटलको टिमले भिडियो डिलिट गर्न दवाव दिएको बताए । अस्पतालको बद्नाम नगर्न भन्दै दवाद दिएको उनको भनाई छ । उहाँहरुले बच्चाको फेरि उपचार गर्छु भन्नुभयो, १७ दिन राखेर करिव ७ लाख खर्च गर्दा पनि निको नभए पछि मैले विश्वास नलागेर अस्वीकार गरे । अहिले धामी पनि देखाइरहेको छ, गिरीले भने ।
बच्चामा अहिले पनि काप्ने समस्या उस्तै रहेको आमा दिपा गिरीले बताइन् । बच्चा कापेर सुत्न समेत नसकिरहेको जानकारी दिइन् । ऋण गरेर लाखौं रुपैयाँ सिध्याउँदा पनि उपचार नभएपछि गिरी परिवारले अन्यायमा परेको गुनासो गरेका छन् । उनीहरुले अस्पताललाई भनेका छन्, फेरि उपचारमा लैजानुभन्दा बच्चा निको नभएका कारण ऋण गरेको पैसा फिर्ता गरिदिनुहोस् । अन्तै उपचारमा लैजान्छौं ।







प्रतिक्रिया