अर्जुनधारा

खुदुनावारीमा एमालेको सन्देश – विचलित छैनौं, अझै सक्रिय बन्छौं

खुदुनावारीमा एमालेको सन्देश – विचलित छैनौं, अझै सक्रिय बन्छौं


अर्जुनधारा । झापाको खुदुनावारीमा एमालेले दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेनजी आन्दोलनपछि आज एमालेले भव्य कार्यक्रमको आयोजना गर्दै विचलित नभएको र पार्टीभित्र बलियो एकता कायम गर्दै थप सक्रिय हुने सन्देश दिएको छ ।

जेनजी आन्दोलनपछि सक्रिय राजनीतिक गतिविधि गरिरहेको एमालेमाथि जेनजी, युवा, वृद्धवृद्धाहरुको विश्वास र भरोसा धेरै भएको कार्यक्रममा सहभागीहरुको धारणा थियो । देश बनाउने पार्टी, जेनजी, युवा, वृद्धवृद्धा सबैको भरोसा नै एमाले भएको अधिकांशको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य एवम् पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीले जेनजीसहित सबै पुस्ताको भावनाको सम्बोधन एमालेले मात्रै गर्न सक्ने बताए । उनले जेनजीको माग र एमालेको माग एउटै भएको धारणा व्यक्त गरे । एमालेले सबैको माग सम्बोधन गर्ने भन्दै गलत कार्यमा संलग्नहरुको पछि नलाग्न आग्रह गरे ।

एमाले भ्रष्टाचारको विरुद्धमा वर्षौदेखि लागेको र सुशासनको पक्षमा सधै आवाज उठाइरहेको बताउँदै गिरीले देशमा सुरक्षा जोखिम बढेर गएको बताए । हतियारहरु लुटिएको र कैदीबन्दीहरु कारागार बाहिर आएकाले यहि अवस्थामा निर्वाचन संभव नहुने नेता गिरीको भनाई थियो । उनले संवैधानिक बाटोबाट मुलुकलाई अघि बढाउन संसद पुनस्र्थापना हुनुपर्ने बताएका छन् ।

यस्तै, दीपावलीको शुभकामना दिदैं अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन तामाङले जनतालाई त्रसित नबनाउन आग्रह गरेका छन् । जनताको सुरक्षा र विकासको जिम्मा सधैं एमालेले लिने बताउँदै जेनजी आन्दोलनमा अर्जुनधाराभित्र आगजनी, तोडफोड र लुटपाट मच्चाउनेहरुको पहिचान भइसकेको बताए । गलत काम गरेकाहरुलाई नगरबासीले नै ठेगान लगाउने उनको भनाई थियो ।

नगरपालिकाले जनताको भावना अनुरुप सुविधा दिँदै गर्दा केही बदमासहरुले आगजनी गरेको दोहोर्याएका छन् । नगरपालिका र वडा कार्यालय आगजनी गर्नेहरुलाई कसैले पनि ठिक गरेको नभन्ने उनको भनाई थियो । कसले – कसले आगो लगाए सबैलाई थाहा छ, उनीहरु अझै पनि गमक्क भएर हिडिरहेका छन्, उनले भने ‘उनीहरुलाई नगरबासी आमाबुबाले त्यसै छोड्नु हुनेछैन ।’

कार्यक्रममा बोल्दै उनले विरिङ पुलको लागि बजेटको व्यवस्थापन गरेर काठमाडौंबाट फर्किएको जानकारी गराएका छन् । कामका बारेमा रचनात्मक सूझावहरु दिन मेयर तामाङले आग्रह समेत गरेका छन् । अर्जुनधाराबासीलाई उच्च मनोवलका साथ सामाजिक सेवामा लाग्न उनको सूझाव थियो ।

नेकपा एमाले अर्जुनधारा वडा नं. १,२,३ को आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य झापा जिल्ला इञ्चार्ज राज लिम्बु, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमाले अर्जुनधारा वडा नं. २ का वडा कमिटी अध्यक्ष हरि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा कमिटी अध्यक्ष माधव आचार्यले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन वडा नं. ३ का वडा कमिटी अध्यक्ष युवराज चापागाईले गरेका थिए ।

शेयर गर्नुहोस :

1.2k
Shares