खुदुनाबारी । अर्जुनधारा–२ स्थित स्थानीय वडा खेलमैदानमा सम्पन्न एसवाइएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भद्रपुरको ब्रदर्स युनाइटेड एफसीले जितेको छ। सोमबार भएको फाइनल खेलमा ब्रदर्स युनाइटेडले घरेलु टिम खुदुनाबारी एफसीलाई २–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।
भद्रपुरको जितका लागि खेलको २९औं मिनेटमा शक्ति राई र ५१औं मिनेटमा रोमन भूजेलले गोल गरे। घरेलु टिम खुदुनाबारीका लागि २५औं मिनेटमा राजेश दाहालले एक मात्र गोल फर्काए।

विजेता भद्रपुरले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता खुदुनाबारीले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। विजेताको पुरस्कार अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङले र उपविजेताको पुरस्कार शान्ति सामुदायिक वन उपभोक्ता समूहले प्रदान गरेका थिए।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी खुदुनाबारीका राजेश दाहाल घोषित भए। फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ भद्रपुरका शक्ति राई भए। उत्कृष्ट गोलरक्षक भद्रपुरका अमस टुडु, उत्कृष्ट रक्षक खुदुनाबारीका अभिषेक गुरुङ, सर्वाधिक गोलकर्ता भद्रपुरका सरोज कार्की र उदीयमान खेलाडी आयोजक टिमका घोषित भए। उत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय रुपैयाँ तथा अन्य विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो।
समापन कार्यक्रममा आयोजक सचेत युवा समूहका अध्यक्ष राजा साँवाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख तामाङको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा खेलमैदानको लागि जग्गा दिने जग्गादाता जंगबहादुर राई, हरिबहादुर श्रेष्ठ (मरणोपरान्त), हरिनारायण प्याकुरेल, खेलमैदान निर्माणमा सहयोग गर्ने इन्द्रबहादुर रम्तेल, निःशुल्क धारा निर्माण गर्ने दाता टीकामाया राईलगायतलाई सम्मान गरिएको थियो।
यस्तै, सोही दिन भएको भेट्रान्स खेलमा खुदुनाबारी भेट्रान्सले ब्रदर्स युनाइटेड भेट्रान्सलाई २–१ ले पराजित गर्दै नगद १० हजार १ सय रुपैयाँ पुरस्कार जित्यो।
समापन कार्यक्रमको सञ्चालन समूहका सचिव शिव भट्टराई र सञ्चारकर्मी रञ्जिता खड्काले संयुक्त रूपमा गरेका थिए।







प्रतिक्रिया