अर्जुनधारा

दहिझोडा सामुदायिक वनको २९ औं वार्षिक साधारणसभा

दहिझोडा सामुदायिक वनको २९ औं वार्षिक साधारणसभा


शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

समूहद्वारा कार्यालय प्राङ्गणमा आयोजित साधारणसभाले माइन्युट लेखन तथा प्रमाणित समितिको छनौट, आव ०८२-०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने बारे पेश भएका प्रतिवेदन उपर छलफल र पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संस्थाका अध्यक्ष देवराज बुढाथोकीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा समूहको ऐतिहासिक पृष्ठभूमि ,वन संरक्षण , सम्वद्र्धन र विकास, वन सम्बन्धि सचेतना, गरिबी न्युनिकरण जस्ता कार्यक्रमहरु प्रतिवेदनमा समेटिएको छ ।

७४६.७० हेक्टर क्षेत्रफल रहेको यस वन क्षेत्र पर्दछ । समूहमा १९३२ घर थुरी ‘क’ वर्गको उपभोक्ताहरु रहेको उल्लेख छ । त्यस्तै समूहकी कोषाध्यक्ष सनिसा बस्नेतले आर्थिक वर्ष ०८१-०८२ को आय – व्यय तथा ०८२-०८३ को लागि अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् भने लेखा संयोजक पुष्प बहादुर घलेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा गत वर्ष संस्थाको चुनाव निष्पक्ष गराई सहयोग पु¥याउने निर्वाचन आयोगका संयोजक छविलाल लम्साल , सदस्यहरु तुलसी श्रेष्ठ ,कोशी राई, टंक पराजुली ,युवराज खड्का र युवराज लम्साललाई सम्मान पत्रसहित सम्मान गरिएको थियोे ।

समूहका अध्यक्ष बुढाथोकीको सभापतित्व र सचिव चन्द्रकुमारी बुढाथोकीले (गीता) सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देन तामाङले शुभकामना मन्तव्य राख्दै यस वन समितिले उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउन र वन विकास गर्न राम्रा –राम्रा कार्यक्रमहरु ल्याएकोमा उनले प्रशंसा गरे ।

पशुपंक्षी संरक्षण गर्न १५ लाख रुपैयाँ र टाङ्गटिङ्ग खोला तटबन्धनका लागि ६० लाख रुपैयाँ आफ्नो कार्यालयले विनियोजन गरेको जानकारी दिए । वडा नम्बर –४ बाघेडाँगी क्षेत्रका विपन्न वर्गहरुलाई सहयोग गर्ने उनले आश्वासन दिए ।

सोही वडाको विकासका लागि नगरपालिकाबाट १ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको अवगत समेत गराए । यदि कसैले म भन्दा बुद्धिमानी अरु कोही छैन् भन्छ भने त्यो महामुर्ख हो । म त जनप्रतिनिधि भएर मेयर सिक्दैछु । तपाईंहरुको सल्लाह – सुझाव मलाई आवश्यक छ । हामीले गरेको राम्रो कामलाई वाह ! वाह ! गर्दा हामी फुर्किन्छौं । हामीले काम बिग्रारे तपाईंहरुले आलोचना गरिदिनुस् उनको यस्तो आग्रह थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख महेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारी, प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मात्रिका पोखरेल, भानु मावि फुलबारीका प्रधानाध्यापक रुपक दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य समूहका उपाध्यक्ष रुद्रबहादुर पौडेल खत्रीले राखेका थिए ।

कार्यक्रममा वडा ४ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा ,सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष भानु श्रेष्ठ , जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहन श्रेष्ठ ,दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष टेकनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र सुब्बा, वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष ध्यान बहादुर भारती लगायतको आतिथ्यता रहेको थियो ।

शेयर गर्नुहोस :

486
Shares