Banner news

गरामनीमा शहिदको शिर उठाईयोस्

गरामनीमा शहिदको शिर उठाईयोस्


प्रदीप परियार/ टिप्पणी

झापाको बिर्तामोडस्थित गरामनी बजार क्षेत्रमा राप्रपाका स्थानीय नेता कार्यकर्ताहरुले बुधबार (आज) सद्भाव र्याली निकाले । राप्रपाको झण्डा विना निकालिएको सद्भाव र्यालीमा राष्ट्रिय झण्डा देखियो । केही समयअघि बिर्तामोडमा एमालेले पनि बृहत सद्भाव र्याली निकालेको थियो । मोटरसाईकल र्याली गरेको एमालेले शान्ति सुरक्षा कामय गर्न माग गर्दै सद्भाव र्याली सम्पन्न गरेको हो ।

गरामनी हुँदै बिर्तामोड परिक्रमा गरेको एमालेको र्यालीले नगरपालिकाअघि कोणसभा गरेको थियो । बिर्तामोडमा पहिलो पटक राप्रपाले पनि त्यसै प्रकारको सानो समूहमा गरामनी केन्द्रित र्याली आयोजना गरेको छ । राप्रपाले संस्थागत रुपमा आयोजना नगरेको भनिए पनि अधिकांश सहभागिता राप्रपाका नेता कार्यकर्ता कै थियो ।

गरामनी केन्द्रीत कार्यक्रमको मुख्य कारण भनेको शहिदको शालिक तोडफोडको विषय नै हो । एमालेले शालिक बनाउन अल्टिमेटम नै दियो । अल्टिमेटम पुरा भएको छैन । त्यसै विषयले भएका वादविवाद राजनीति कार्यक्रममा रुपान्तरित भइरहेका छन् ।

दुवै पक्षले सद्भाव र्याली आयोजना गरे पनि माहोल एकअर्काप्रति आक्रोसपूर्ण छ । राप्रपा समर्थकले गरामनीको शहिदको शालिक तोडफोड गरेको एमालेको आरोप छ । तोडफोड गर्नेहरु भिडियो मै देखिएका छन् । गएको निर्वाचनमा पराजित भएका केही व्यक्ति पनि त्यहाँ संलग्न भएको भनिएको छ ।

शहिदहरुको टाउँको तोडफोडपछि सडकमा राखिएको थियो । शहिदको टाउको सडकमा फोलेर शहिदप्रति गरेको अमानवीय हर्कत कुनै पनि हालतमा स्वीकार्य छैन, हुदैन र हुन सक्छैन । शहिदको कुनै पार्टी हुदैन । उनीहरु राष्ट्रका शहिद हुन् । राष्ट्रका निमित्त योगदान गरेका उनीहरुप्रति आग्रह पूर्वाग्रह राख्नेहरुमा मानवताको अभाव देखियो । कुनै राजनीतिक दलका मानिसहरुले तोडफोड गरेका हुन् भने उनीहरु राजनीतिक चेतनाका हिसावले शून्य छन्, त्यस्ता भावना बोक्नेहरु विवेकहीन हुन् । तोडफोडमा संलग्नहरु वैचारिक हिसावले घृणित छन् । उनीहरुमा विचार छैन, शहिदप्रति सम्मान छैन ।

शहिदप्रति दुव्र्यवहार गर्दा शहिदको आत्माले त्यस्ता अराजक समूहलाई पक्कै माफी दिएको छैन । भदौं २३ गतेको आन्दोलनपछि २४ गते भएको अराजकता र अपराधको नेपाली जनताले अवश्य मुल्याङकन गर्ने छन् । त्यो मुल्याङकन शहिदहरुले पनि गर्ने छन् ।

गरामनी क्षेत्रमा एमालेको विरासत बलियो छ । त्यहाँ प्रतिष्पर्धी देखिएको दलले आफुलाई शक्तिमा स्थापित गर्न चाहन्छ । राजनीति भनेको जनताको मन जितेर गर्ने हो, यो कुरा सबै दलले बुझ्न जरुरी छ । भिडेर भन्दा पनि अपराध गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । कुनै पनि दलको व्यक्ति किन नहोस् अपराध गर्नेलाई कानुनी दायरामा ल्याउन सक्नुपर्छ ।

शहिदको शालिक तोडफोड गर्नेहरु विरुद्ध एमालेले कानुनी कारबाही गर्न जरुरी छ । अथवा, राप्रपा वा अन्य कुनै दललाई एमाले वा कांग्रेस कसैले गरेको भन्ने लागेको छ भने उनीहरुले पनि कानुनी बाटो रोजेर जानु उपयुक्त हुन्छ । कसैले पनि बल देखाएर भिड्न खोज्नु मुर्खता हो, आजको लागि कानुनी बाटो उत्तम विकल्प हो ।

शहिदको शालिक तोडेर सडकमा पुराउनेहरुले आफ्नो परिवारलाई सोधौं, के मैले ठिक गरे ? जेनजी आन्दोलन शहिदको शालिक तोड्नलाई थियो ? शहिद परिवारले के सोचे होलान् ? शहिदको सम्मान गर्नुपर्छ, सकिदैन भने अपमान गर्न मिल्दैन । शहिदको शालिक तोडफोडले हाम्रो समाज कति अराजकताको बाटो जाँदैछ भन्ने पनि स्पष्ट हुन्छ । अब, यसै मामिलामा जुधिरहनु भन्दा समाधानको बाटोमा अघि बढ्नुपर्छ । राजनीतिक सद्भाव देखावटीका लागि मात्र हो भने काम छैन, सहकार्य र सद्भावपूर्ण हुनुपर्छ ।

त्यसैले गरामनीका ति महान शहिदहरुसँग माफी मागियोस् । शहिदको शालिक निर्माण गरियोस् । जसले आवेशमा बहादुरी देखायो उसैलाई निर्माणका लागि अग्रसर हुन शहिदको रगतले प्रेरणा मिलोस् । गल्ती हुन्छ, आवेश उत्तेजनाले त्रुटि भयो होला । अब, भत्काउनेले बनाउनु पर्छ । त्यो काम महान हुने छ । कुन पार्टी, कुन विचारले विगार्यो नभनौं । भत्काउनेले बनाएर मानवता देखाऔं । आग्रह पूर्वाग्रह राखिरहने हो भने, बल कै जोशमा दौडिरहने हो भने शहिदको रगतले उनीहरुको शिर उठ्न दिने छैन । जीवन्त शिर निहुँराउनु भन्दा निर्माण गरेर शिर उठाएर हिड्नु बुद्धिमानी हुनेछ ।

शेयर गर्नुहोस :

5.4k
Shares