बिर्तामोड । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाले स्वास्थ्यकर्मीको हक–अधिकार, पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

महासंघका जिल्ला अध्यक्ष भरत खतिवडाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो । महासंघले लामो समयदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारलाई आग्रह गर्दै आएको तर मागहरू बेवास्ता भएपछि बाध्य भएर चेतावनी स्वरूप ज्ञापनपत्र बुझाइएको जनाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यकर्मीले प्रदान गरेको ज्ञापनपत्र केन्द्रमा पठाउने बताउनु भयो ।
महासंघका मुख्य माग
१. निजी, सरकारी, गैरनिजी तथा गैरसरकारी स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई समान रूपमा राज्यले अपनाउने नीति अनुसार सम्मानजनक तलब–भत्ता प्रवाह गरियोस् र सरकारले तोकेको पारिश्रमिक अबिलम्ब कार्यान्वयन गरियोस् ।
२.सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीको रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी ।
३.कानून विपरीत स्वास्थ्यकर्मीको पेशागत अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नचाल्न सरकारलाई सचेत गराउने ।
महासंघले स्वास्थ्यकर्मीका हक–अधिकार र सुरक्षाप्रति राज्य गम्भीर नभए देशभर आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा झापाका विभिन्न स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया