शनिश्चरे । अर्जुनधारा नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा नगर भेटेरिनरी हस्पिटलले आइतबार देखि गाई–भैंसीलाई खोरेत रोग विरुद्ध खोप लगाइने अभियान शुरु गरिने भएको छ ।
शाखाद्वारा वडा नम्बर – ९ कटहरडाँडास्थित कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका प्रमुख पदमलाल राईले जानकारी गराएका हुन् । राईका अनुसार नगरलाई खोरेत मुक्त बनाउने उद्धेश्यले खोप अभियान सञ्चालन गरिने लागेको हो । खोरेत मुक्त नगरले दुध र मासुजन्य उत्पादन , बिक्रीवितरणमा अन्तर्राष्ट्रिय रुपमा मान्यता पाउनेछ । 
खोरेत रोग सरुवा रोग भएकोले १ महिनाभित्र सक्ने गरी नगर क्षेत्रका २ हजार पशु (चौपाया) लाई खोप ( सुई) लगाउने योजना सुनाए । मुखमा घाउ आउने , खुट्टाको खुर पाक्ने, घाँस नखाने, सुन्निने, ज्वरो आउने यस रोगका लक्षण हो । खोरेत लागेका गाईको दुध र भैंसीको मासु खान अयोग्य हुन्छ ।
पत्रकार सम्मेलनमा भेटेरिनरी विभागका छैटौं अधिकृत देवी कुमारी लिम्बू ,लाइमस्टक विभागका छैटौं अधिकृत बेनु कुमार बस्नेत , मत्स्य प्राविधिक रवि कुमार तिवारी लगायतको उपस्थिति रहेको थियो । यस अघि शाखाले कुकुर, बिरालोलाई रेबिज विरुद्ध खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिसकेको बताइएको छ ।







प्रतिक्रिया