बिर्तामोड । अर्जुनधारा नगरपालिका–२, गाजाबारीस्थित नवज्योति आधारभूत विद्यालयले तिहारमा देउसी कार्यक्रम सञ्चालन गरेर संकलन गरेको रकमबाट विद्यार्थीका लागि १ लाख १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
विद्यालयले तिहारका दुई दिन अभिभावक तथा स्थानीय समुदायको क्षेत्रमा देउसी कार्यक्रम सञ्चालन गरेको थियो। सो कार्यक्रमबाट १ लाख १३ हजार ७ सय रुपैयाँ आम्दानी भएको विद्यालयका प्रधानाध्यापक लोकनाथ कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ हजार ७ सय रुपैयाँ खर्च कटाएर बाँकी १ लाख १० हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरिएको हो । प्रधानाध्यापक कोइरालाले भन्नुभयो, “उक्त कोषबाट विद्यालयको वार्षिकोत्सवमा जेहेन्दार, मेहनती र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्ने योजना छ ।” साथै बिद्यार्थीको समग्र शैक्षिक उन्नयनमा खर्च गर्ने उदेश्य रहेको प्र.अ. कोइरालाले बताउनुभयोा ।
देउसी कार्यक्रममा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा विद्यालयका शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो । वि.सं. २०२६ सालमा स्थापना भएको विद्यालयमा हाल १०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १० जना शिक्षक र १ जना कर्मचारी कार्यरत छन्, जसमा ६ जना दरबन्दी र ४ जना निजी स्रोतका शिक्षक रहेका छन् ।







प्रतिक्रिया