Banner news

अर्जुनधारामा महायज्ञ शुरु : नयाँ पुस्तालाई संस्कार –संस्कृति सिकाउनु पर्नेमा जोड

अर्जुनधारामा महायज्ञ शुरु : नयाँ पुस्तालाई संस्कार –संस्कृति सिकाउनु पर्नेमा जोड


इन्द्रकुमार राई

शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा बिहीबारदेखि वायु पुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । धामको ४३ औं वार्षिक अनुष्ठानको रुपमा सप्ताह महायज्ञको आयोजना गरिएको हो ।

धामका व्यासाचार्य पण्डित कुबेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहने महायज्ञ आगामी मंसिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपण पश्चात् समापन हुने बताइएको छ । समारोहका प्रमुख अतिथि १००८ केशवानन्द स्वामीले पानसमा दिप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरेका हुन् । त्यस्तै प्रमुख वाचक सुवेदीले मन्त्रसहित विधिवत रुपमा कथा उद्घाटन गरेका थिए ।
त्यसैगरी पार्वती मन्दिर निर्माता झुमा बस्नेतले यज्ञ उद्घाटन गरिन् भने दाता छविलाल शिवाकोटीले धान्यञ्चल पर्वत उद्घाटन गरेका थिए ।

धाम कार्यसमितिका अध्यक्ष नवीन गट्टानीको सभापतित्व र संचारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि केशवानन्द स्वामीले पुराण सफलताको लागि शुभकामना व्यक्त गर्दै नेपाल आफै तपोभूमि , जन्मभूमि भएको बताए । अहिलेका नयाँ पुस्तालाई संस्कार –संस्कृतिको पाठ सिकाउनु पर्नेमा जोड दिए ।

उनले भने एसिया कै धरोहर मानिने सिंहदरबार , देशभरका नगरपालिका संस्कार नभएकाहरुले जलाएका हुन् । देश नचिनेको व्यक्तिले राष्ट्र जलाउन एक मिनेट पनि लगाउँदैन् । व्यक्तिमा जब संस्कार हुदैन, तबसम्म उस्को विवेक शुन्य हुन्छ, उनको भनाइ थियो । घर, सडक आदि बनाएर मात्र विकास नहुने धर्म, संस्कृति र संस्कार जोगाउन आजको आवश्यकता रहेको बताए ।

उनले भगवान पशुपतिनाथको दुत बनेर आफू यस कार्यक्रममा आएको बताउँदै संस्कारको शिक्षा यहि धामबाट पाठ सिकाउन सुरु गर्न सुझाव समेत दिए ।

विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङले धाममा वर्षेनी पुराण लाग्छ । गेटद्वार निर्माण गर्दा पैसा खर्च हुने भएकोले दिर्घाकालिनका लागि आकर्षक गेट निर्माण गर्न प्रदेश सरकारसँग सहकार्य गर्न जरुरी रहेको बताए । उनले भने पुराणमा पैसा मात्र सहयोग गरेर हुदैन , पुराणले दिएको उपदेश ग्रहण गरी अरुलाई सुनाउन सहयोग हुनेछ । जुन समाज धार्मिक हुन्छन् त्यो समाज सभ्य हुन्छ । अनुशासित मानिसले सफलता प्राप्त गर्ने विश्वास दिलाए ।

युवा युवतीहरु पैसा कमाउन विदेश जान्छन् तर जति नै कमाए पनि केही वर्ष पछि घर फर्किन्दा संस्कार नै बिर्सेर आउँछन् उनको यस्तो टिप्पणी थियो । मुलअर्चक अग्नि प्रसाद सिग्देलले धामको प्रगति बारे जानकारी दिए । कार्यक्रममा गुरुकुलका शिक्षक चिरञ्जीवी ढुंगानाले स्वस्तिवाचन र विद्यार्थी खेमराज अधिकारीले संस्कृत भाषाबाट स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष अम्बिका प्रसाद खतिवडाले स्वागत मन्तव्यसहित संक्षेपमा धामको ऐतिहासिक पृष्ठभूमि बारे अवगत गराएका थिए ।

सो अवसरमा किराँत लिम्बू समुदायका कलाकारहरुले च्याब्रुङ्ग नृत्य र पतञ्जलि योग समिति अर्जुनधाराका कलाकारहरुले मनोरञ्जनात्मक शिव ताण्डव नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली , झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ,साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडा लगायतको आतिथ्यता रहेको थियो । यसअघि झाँकीसहित कलश यात्राले नगर परिक्रमा गरी मण्डपमा कार्यक्रम परिणत भएको आयोजकले बताएको छ ।

शेयर गर्नुहोस :

405
Shares