बिर्तामोड । सहिद प्रजापति सापकोटालाई जनवादी गीत गाउँदै सम्झना गरिएको छ । सापकोटाको ३९ औं स्मृति दिवसका अवसरमा विभिन्न जनवादी गीत गाउँदै उनको सम्झना गरिएको हो ।
उनको सम्झनामा सोमवार झापाको बाह्रदशीमा जनसांस्कृतिक महासंघ गाउँकमिटीले जनवादी सांस्कृतिक कार्यक्रम तथा दोस्रो सम्मेलनको आयोजना गरेको हो ।

जनवादी गायकहरुले गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ…, सुखानीको रगतले भन्छ हामीलाई… , देशले रगत मागे, मलाई बली चढाऊ…, मुठ्ठी उचाल.. जस्ता गीतहरु प्रस्तुत गरेका थिए । जनवादी गायक डा. कुमार सुवेदी, गोपाल योङहाङ, मेदनी शिवाकोटी, भीमा खतिवडा, उदास शंकर, मिलन संग्रौला, पुष्प नेपाली, स्मरण चुडाल (बासुरी बादक), विदुर कार्की (किबोर्ड), खुमेन्द्र श्रेष्ठ (अक्टोप्याड) र तारा कार्की (गितार) लगायतले गीत प्रस्तुत गरेका थिए ।
०४३ सालको लक्ष्मीपुजाका दिन सापकोटालाई तत्कालिन पञ्चायत पक्षधरहरुले गोल्धापमा राती आक्रमण गरेका थिए । जनसांस्कृतिक देउसी कार्यक्रममा उनलाई आक्रमण गरिएको थियो । आक्रमणबाट गम्भीर घाइते सापकोटाको मंसिर १ गतेका दिन निधन भएको थियो ।
नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको व्यवस्थापन र जनसांस्कृतिक महासंघ झापाको संयोजनामा आयोजित कार्यक्रममा जनवादी गीतहरु प्रस्तुत गरिएको थियो ।
आयोजक कमिटीको अध्यक्ष रेणुका भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मोहन विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि विश्वकर्मासहित एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य हरिचरण शिवाकोटीले मन्तब्य राखेका थिए । सहिद परिवारको तर्फबाट त्रिलोचन सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीका गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले गरेका थिए ।







प्रतिक्रिया