बिर्तामोड । अर्जुनधारा जलेश्वर धाममा विगतमा भन्दा यस वर्ष शतबीज छर्न आउने श्रद्धालु भक्तजनको संख्या बढेको छ । धाम समितिका सदस्य एवम् संचार संयोजक निरज ओलीले विगतमा भन्दा राम्रो उपस्थिति भएको जानकारी दिए ।
बालाचतुर्दशी पर्वको अवसरमा पितृ उद्धारका लागि शतबीज छर्न ३ लाखको हाराहारीमा भक्तालुहरुको उपस्थिति भएको ओलीको भनाई छ । मंगलवार साँझदेखि विहान शतबीज छर्न आउनेहरुको संख्या ३ लाख हाराहारी भएको अनुमान गरिएको छ ।

अर्जुनधारामा शतबीज छर्नका लागि नेपालको पूर्वी पहाडी जिल्ला, पश्चिममा रामेछाप, मकवानपुरका भक्तजन साथै भारतको सिक्किम, आसाम र बंगालदेखि हिन्दू धर्मावलम्बीहरु अर्जुनधारा जलेश्वर धाममा आउनु भएको धाम समितिका सदस्य ओलीको जानकारी दिए । उनका अनुसार यो वर्ष भुटानबाट पनि पितृ उद्धारका लागि भक्तालुहरु आएका थिए ।
भक्तजनहरु त्रयोदशी साँझमा अखण्ड दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बसेका थिए । बुधबार विहान सबेरैदेखि धाम परिक्रमा गरी शतबीज छर्नेहरुको भीड लागेको थियो । उनीहरुको व्यवस्थापन गर्न प्रहरी, स्वयम्सेवक र स्काउटका विद्यार्थी खटिएका थिए । धाममा कात्तिक २७ गते सुरु भएको वायु महापुराण समेत बुधबारबाट समापन भएको हो । ओलीका अनुसार वायु पुराणका कारण भक्तालुहरुको उपस्थिति बढेको हो ।
भक्तालुहरुलाई बसाई व्यवस्थापन गर्न पर्याप्त पण्डालको व्यवस्था मिलाइएको उनको भनाई छ । खानपान र बसाई व्यवस्थापन सहज भएकोले भक्तालीले शितमा बस्नु नपरेको ओलीले दावी गरे ।
अर्जुनधाराका अगुवा एवम् लेखक कुमार भट्टराईले गत वर्षको तुलनामा यो वर्ष राम्रो व्यापार भएको जानकारी दिए । गत वर्षको भन्दा संख्यात्मक हिसावले उपस्थिति घटेपनि शनिश्चरे बजारमा व्यापार राम्रो भएको उनको भनाई छ । अघिल्लो वर्ष १०८ पुराण लागेको थियो, भट्टराईले भने – त्यसै कारण प िनगत वर्षको उपस्थिति राम्रो थियो ।
झापामा शिवसताक्षीको शताक्षीधाम, मेचीनगरको श्रीकृष्ण थुम्की लगायतका मन्दिरहरुमा समेत शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो ।
अर्जुनधारामा निशुल्क पार्किङदेखि आवतजावतमा विशेष सहजीकरण गरिएको जनाइएको छ ।







प्रतिक्रिया