अर्जुनधारा

शनिश्चरे क्याम्पसलाई योगदान गर्नेहरु सम्मानित, उत्कृष्ट विद्यार्थी पुरस्कृत

शनिश्चरे क्याम्पसलाई योगदान गर्नेहरु सम्मानित, उत्कृष्ट विद्यार्थी पुरस्कृत


शनिश्चरे । शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधाराको १२ औं क्याम्पस साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
क्याम्पसद्वारा आयोजित साधारणसभाले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन अनुमोदन गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । साधारणसभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद खरेलले क्याम्पसको ऐतिहासिक पृष्ठभूमिसहित भौतिक संरचनाहरु जानकारी गराउँदै क्याम्पसले अहिलेसम्म प्राप्त गरेको उपलब्धि , चुनौती र भावी योजना सुनाए ।

उनका अनुसार समितिले अक्षयकोष १ करोड रुपैयाँ पु¥याउने लक्ष्य राखी रकम संकलन घरदैलो अभियान सञ्चालन भइरहेकोले सहयोगका लागि अनुरोध गरे । हालसम्म ८ लाख ७९ हजार ९८ रुपैयाँ संकलित भइसकेको छ । कोषको ब्याजबाट आएको रकमले गरीब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र भौतिक संरचना निर्माणमा खर्च गरिनेछ ।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबहादुर थापाले वार्षिक प्रगति प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार तत्कालीन शनिश्चरे, अर्जुनधारा ,खुदुनाबारी गाविसका शिक्षाप्रेमी , समाजसेवी तथा बुद्धिजीवीको अथक प्रयास र योगदानको परिमाण स्वरुप वि.स. २०६४ साल असोज १६ गते शनिश्चरे बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसको रुपमा त्रिविबाट शिक्षाशास्त्र र व्यवस्थापन संकायका कक्षा सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेको उल्लेख छ ।

सोही मितिबाट लागू हुने गरि व्यवस्थापन संकाय अन्तर्गत बिबिएस तथा शिक्षाशास्त्र संकायका कार्यक्रमहरु सञ्चालन भइरहेको छ । हाल त्रिवि अन्तर्गत शिक्षाशास्त्र, व्यवस्थापन तथा मानविकी संकायका निम्न कक्षाहरु थप गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल क्याम्पसको प्रथम वर्षमा ३७ जना र बीएड तर्फ २२ जना गरी विद्यार्थी भर्ना भएका छन् । दोस्रो , तेस्रो र चौथो वर्षमा जम्मा गरी ४६३ जना विद्यार्थी अध्ययनरत छन् ।

शैक्षिक सत्र २०८२ मा जम्मा विद्यार्थीको संख्या ५२२ जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी आन्तरिक लेखापरीक्षण संयोजक कृष्णप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष खरेलको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यतामा शिक्षा क्षेत्रमा योगदान पु¥याउने केदारमणि ढकाल, क्याप्टेन मानबहादुर राई र कृष्णप्रसाद मिश्रलाई सम्मान पत्रसहित नेपाली ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

विभिन्न संकायहरुमा उत्कृष्ट अंक ल्याउने क्याम्पस टप प्रमिक्षा राई (७४.६% ) बिबिएस चौथो वर्ष , उत्कृष्ट विद्यार्थीहरु रेम्बा तिम्सिना ७१.४% वीएड चौथो वर्ष , एलिसा दाहाल ६७ . २% बीबीएस तेस्रो वर्ष ,यमुना गिरी ५१.८% वीएड तेस्रो वर्ष ,विशेष कोइराला ६९% बीबीएस दोस्रो वर्ष, विष्णुमाया पौडेल ४४% वीएड दोस्रो वर्ष ,रिया निरौला ६२.६% वीवीएस प्रथम वर्ष र वीएड प्रथम वर्षमा ५५.३२% अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियोे ।

प्राध्यापक नारायण प्रसाद पौड्यालले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि तामाङले क्याम्पसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षा पठनपाठन गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना, शनिश्चरे बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद ओली , सिताराम बहुमुखी क्याम्पस प्रमुख पुष्प रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य आयोजना क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष लोकनाथ गौतमले राखेका थिए । यस अघि क्याम्पसमा स्ववियुको आयोजनामा आयोजित खेलकुदका पुरस्कारहरु वितरण गरिसकेको जनाइएको छ ।

शेयर गर्नुहोस :

648
Shares