Banner news

कनकाई माविका शिक्षक जब विद्यार्थी खोज्दै घरघर पुगे

कनकाई माविका शिक्षक जब विद्यार्थी खोज्दै घरघर पुगे


बिर्तामोड । अकस्मात शिक्षक कर्मचारीहरु विद्यार्थीको घरघर पुगेपछि अभिभावक चकित भएका छन् । घरघर पुगेर विद्यार्थीको खोजी गर्न थालेपछि अभिभावक चकित भएका हुन् । त्यसरी जाने शिक्षकहरु कनकाई मावि सुरुङाका थिए ।

विद्यार्थीलाई पढाईप्रति जागरुप र सचेत गराउन कनकाई मावि सुरुङाले घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत घरघर पुगेका शिक्षकहरुले विद्यार्थीहरुको दैनिकी बुझ्ने र अभिभावकसँग संवाद गर्ने काम गरेर फर्किए । शुक्रवार कनकाई माविका शिक्षक कर्मचारीहरु वडा नं. ४ को कोटिहोम दक्षिण त्रिवेणी, बगर र नवज्योती टोल पुगेका थिए ।

विद्यालयको आन्तरिक परीक्षाको पूर्व सन्ध्यामा विद्यार्थीहरु खोज्दै टोलसम्म पुगेका शिक्षक कर्मचारी विविध सूचना लिएर फर्किए । कतिपय विद्यार्थीहरु खेल्नका लागि घर बाहिर गएको, केही विद्यार्थीहरु घरमा काम नै सघाईरहेको अवस्थमा भेटिएका थिए ।

कनकाई माविका सहायक प्रधानाध्यापक तीर्थराज खरेलका अनुसार विद्यार्थीहरु घरमा पढ्छन्, पढ्दैनन, किताव कहाँ राख्छन्, घरमा कसरी समय विताउँछन् जस्ता मापदण्डहरुलाई आधार बनाएर सोधपुछ गरिएको थियो । घरको अवस्थादेखि विद्यार्थीहरुको नियमित क्रियाकलापसम्म चासो दिइएको उनको भनाई छ ।

पहिलो दिन २२ परिवारमा पुगेको विद्यालयको टोली अब ३ पटक कुनै पनि टोल जान सक्ने तयारीमा छ । विशेषगरी पठनपाठनको वातावरण बुझ्न अभियानले मद्दत गर्ने र आगामी दिनमा सुधार गराउनुपर्ने विषयमा अभिभावकसँग आवश्यक समन्वय गरिने खरेलले जानकारी दिए । सप्र खरेलले भने – धेरै परिवारको मुख्य समस्या भनेको आर्थिक अवस्था नै हो । केही विद्यार्थीको परिवारको अवस्था अति दयनीय पनि देखियो ।

अभिभावकहरुले छोराछोरीहरु मोवाइलमा धेरै समय विताउने, कतिपय अभिभावकले बेलुका मात्रै घर आइपुग्ने, समयमा आए पनि खेल्नका लागि घर छोडेर गइहाल्ने, साँझमा मात्रै फर्किने, भनेको नमान्ने गरेको गुनासो सुनाए । केही अभिभावकले छोराछोरीले निश्चित समय मागेर १ घण्टासम्म मोवाइल चलाउने गरेको टोलीलाई जानकारी दिएका थिए । अभियानमा पुगेका सप्र खरेलले अधिकांशको घरमा स्मार्ट मोवाइलको सुविधा भएको जानकारी दिए ।

सो टोलीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसार्ईं, शिक्षक अभिभावक संघको अध्यक्ष खगमाया चापागाई, आमा समूहको अध्यक्ष सपना कटुवाल, सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिना, तीर्थराज खरेल, इञ्चार्जहरु खेमराज भट्टराई,अम्बिकाप्रसाद रिजाल लगायत कर्मचारीहरु घरघर पुगेका थिए । टोली आएको थाहा पाएपछि खेल्न गएका अन्य विद्यार्थीहरु धमाधम फर्किएका थिए ।

शेयर गर्नुहोस :

1.6k
Shares