शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ रातेखालस्थित सिंहबाहिनी देवी मन्दिर ( भद्रकाली शक्तिपीठ ) मा मंगलबारदेखि नौ दिवसीय श्रीमद् वाल्मीकि रामायण पुराण एवं धनधान्याञ्चल ज्ञान महायज्ञ शुरु भएको छ ।
शक्तिपीठद्वारा विगत वर्षहरु झैं यस वर्ष पनि २४ औं वार्षिक अनुष्ठानको रुपमा महायज्ञ आयोजना गरिएको हो । प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीले पानसमा बत्ती बालेर महायज्ञको उद्घाटन गरेकी हुन् ।

त्यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले दान पेटिका उद्घाटन गरेका थिए भने पुजारी दिनेश काफ्लेले धान्याञ्चल पर्वत उद्घाटन गरेका थिए । पण्डित आचार्य गंगाराम अधिकारी प्रमुख कथा वाचक र पण्डित बालकृष्ण दाहाल उपवाचक रहने महायज्ञ १७ गते समापन हुने छ ।
अध्यक्ष अधिकारीको सभापतित्व र सदस्य ज्ञानेन्द्र अधिकारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुलीले शुभकामना राख्दै अर्जुनधारा जलेश्वरधामलाई केन्द्र विन्दु मानेर एकीकृत योजना बनाई नगर क्षेत्रभित्र रहेको शक्तिपीठहरु समेट्न पर्नेमा जोड दिइन् ।
उनीले भनिन् – हाम्रो धर्म ,संस्कृति र संस्कार सबै राम्रो छ । अहिलेका नयाँ पुस्तालाई संस्कार र संस्कृतिको पाठ सिकाउनु पर्छ । भावी सन्ततिको लागि धर्म संस्कृति र संस्कार जगेर्ना गर्नु आवश्यक छ । पुरानो शिक्षा स्मरण गराउँदै अगाडि भनिन् – पहिले विद्यालयमा गुरुले विद्यार्थीहरुलाई नैतिक शिक्षा पढाउँदा आफू भन्दा ठुला मान्यजनहरुलाई कसरी आदर गर्नुपर्छ भन्ने सिकाउनु हुन्थ्यो । त्यस समयका विद्यार्थीहरु नैतिकवान हुन्थे । पछि विद्यालयबाट नैतिक शिक्षा हटाइएकोले अहिले घाटा भइरहेको छ । पुराणको कथा सुनेर मनन् गर्न सबैलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका –४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल , दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवराज बुढाथोकी , बागेश्वरी देवी मन्दिर पाण्डवपुरका अध्यक्ष इन्द्रमणी पौडेल, टाङटिङ काली खोला पैनी उपभोक्ता समिति अध्यक्ष रुद्र रिमाल, स्थानीय सूर्यज्योति आवासीय अंग्रेजी माविका प्रबन्ध निर्देशक रुद्रप्रसाद सिटौला, गाउँबेसी प्रस्तोता चतुर्भुज काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य आयोजक समितिका दिनेश काफ्लेले राखेका थिए ।
नौमति बाजासहित झाँकी, विद्यालयका विद्यार्थीहरु, संघसंस्थाका प्रतिनिधि ,धर्मानुरागी लगायत सहभागिता रहेको कलश यात्राले नगर परिक्रमा गरी मण्डपमा आएर कार्यक्रममा परिणत भएको थियो ।







प्रतिक्रिया