मनकुमार गदाल
दमक । गौरादह नगरपालिकाले ३ वटा वडालाई बालमैत्री वडा घोषणा गर्न माग गरेपछि जिल्ला समन्वय समिति झापाले अनुगमन गरेको छ । जिसस झापाका प्रमुख विश्वनाथ बराल नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख बरालको टोलीले आज गौरादह नगरपालिका वडा नं. १,२ र ३ को वडाहरुमा सरकारी विद्यालय र गौरादह नगर अस्पतालको अनुगमन गरेको हो । गौरादह नगर अस्पतालको प्रसुति कक्ष, बालमैत्री शैया, शौचालय, खानेपानीको धारा बालमैत्री भए नभएको अनुगमन टोलीले अनुगमन गरेको टोलीमा सहभागी इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख विजय इङनामले बताए ।

अस्पताल परिसरमा केही सेवाग्राहीहरुसँग डाक्टर र नर्सहरुले दिइरहेको सेवाको विषयमा समन्वय समिति प्रमुख बरालले प्रतिक्रिया लिएका थिए । अस्पतालको सेवाको विषयमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हरि घिमिरेले जानकारी गराएका थिए ।
यसैगरी जनता माध्यमिक विद्यालय गौरादह वडा नं. १, अमर माध्यमिक विद्यालय गौरादह वडा नं. २ र सुर्योद्धय आधारभूत विद्यालय वडा नं. ३ को पनि बराल नेतृत्वको टोलीले अनुगमन गरेको गौरादह नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कविता तुम्वापोले बताइन् । अनुगमनका क्रममा जिसस प्रमुख बरालको टोलीमा गौरादह नगरपालिकाको उपप्रमुख जलवर्षा राजवंशी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदी, इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख इङनाम, इलाका प्रहरी कार्यालय दमक प्रमुख डिएसपी किशोर लम्साल, शिक्षा विकास तथा समन्वय इकाई भद्रपुरका प्रमुख कुमार बस्नेत, स्वास्थ्य कार्यालय भद्रपुर झापाका प्रमुख बृज कुमार शाह, गौरादह नगर बाल सञ्जाल अध्यक्ष गुडलक दाहाल, पत्रकार महासंघ झापाका प्रतिनिधि लगायत सहभागी रहेको जिसस सदस्य जुनु महराले जानकारी दिइन् ।
विद्यालयको बाल कक्षा, पानीको धारा ,छात्रछात्रा शौचालयको अवस्था, विद्यालयको चमेना गृहको सरसफाईको अवस्था, कक्षा कोठाको सरसफाईको अवस्था, बाल कक्षाका विद्यार्थीहरुलाई दिइने दिवा खाजा लगायतका विषयमा अनुगमन र तिनीहरुको विषयमा जानकारी लिने काम भएको अनुगमनमा सहभागी गौरादह वडा नं. ३ की वडा सदस्य कल्पना अधिकारीले बताइन् । अनुगमन जानुभन्दा पहिला गौारादह वडा नं. १ देखि ३ सम्मका वडाहरुले आ–आफनो वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि ५१ वटा सुचक पुरा गरेको प्रतिवेदन पनि कार्यक्रम महिला तथा बालबालिका शाखाले प्रस्तुत गरेको थियो ।
वडालाई बालमैत्री घोषणा गर्न गरिएको कृयाकलाप, हासिल गरिएको उपलब्धी, बाल विकासका सुचक लगायतका विषयमा प्रश्न उत्तर पनि गरिएको कर्मचारी गोविन्द्र श्रेष्ठले बताए । सहभागीहरुको प्रश्नको उत्तर दिदै वडा नं. १ वडाध्यक्ष तथा प्रवक्ता नगेन्द्र भण्डारी, वडा नं. २ का वडाध्यक्ष गोपाल कोइराला, वडा नं. ३ का वडाध्यक्ष दिलिप भण्डारी र शिक्षा शाखा प्रमुख विदुर आचार्यले प्रतिवेदन तयारी गर्दाको अनुभव सुनाएका थिए ।
नगर बाल सञ्जालको अध्यक्ष गुडलकलाई सहभागीले राखेको जिज्ञासाको चित्त बुझदो जवाफ दिएको सहभागी जिल्ला समन्वय समिति झापा सदस्य कपिलमणी काफलेले बताए । नगरपालिकाले गत कार्तिक २० गते गरेको अनुरोधमा आइतवार बालमैत्री वडा घोषणाको लागि स्थलगत अनुगमन गरिएकोले एक साताभित्र निर्णय गर्ने प्रमुख बरालले जानकारी दिए ।







प्रतिक्रिया