बिर्तामोड । झापाको बिर्तामोड –७ मा अवस्थित शहिद नेत्र पार्कलाई सञ्चालनमा ल्याउन वन समितिले मर्मत, सरसफाई र रंगरोगनको काम गरिरहेको छ ।
गत बैशाखमा निर्वाचित समितिले मर्मत र सरसफाईलाई प्राथमिकता दिएको सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष कृष्ण प्रसाद लिम्बुले जानकारी दिए । समिति निर्वाचित भएको ७ महिना वितिसकेको छ । सो समयमा समितिले सरसफाई र मर्मतमा केन्द्रीत भएको हो । अध्यक्ष लिम्बुले यहि सिजनबाट पिकनिक खानलाई ठाउँहरु तयारी गरिरहेको जानकारी दिएका छन् । हामी निर्वाचित भएर आउँदा पार्कमा प्रवेश गर्न सक्ने अवस्था थिएन, अध्यक्ष लिम्बु भन्छन् – अहिले टाढैबाट पार्क, सिमसार क्षेत्र देख्न सकिन्छ । सरसफाई गरेपछि घुमौ, रमौजस्तो भएको छ ।

नेपाल सरकारको सय गन्तव्यमध्येको एक पर्यटकीय गन्तव्य नेत्र पार्कमा राज्यको करोडौँ लगानी भइसकेको छ । पार्कमा वर्षौअघि करोडौँ लगानी गरिए पनि परिणाम हात पर्न सकेको छैन ।
उक्त पार्क बिर्तामोडस्थित गरामनिबाट पूर्वोत्तर (२.५ किमी) भागमा रहेको सुन्दर निचाझोडा सामुदायिक वनभित्र निर्माण गरिएको छ । झाडीले ढाकेको पार्कलाई लिम्बु नेतृत्वको समितिले सरसफाई गर्दै आएको छ । यसअघि बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णअविरल खरेलले सरसफाई अभियान नै सञ्चालन गरेका थिए । पार्कमा निर्माण गरिएका संरचनाहरु प्रयोग विहीन जस्तै भएका छन् । अध्यक्ष लिम्बुका अनुसार स्वीमिङ पुल केही महिना सञ्चालन गरिएको थियो । जाडोयाम सुरु भएपछि बन्द गरिएको छ ।
पार्क क्षेत्रमा नयाँ समितिले सुरक्षाका लागि सीसी क्यामेरा, सडक वत्ती जडान गरेको छ । अध्यक्ष लिम्बुका अनुसार कोशी प्रदेश पर्यटन मन्त्रालयबाछ १० लाख र समितिको १० लाख लगानीमा मर्मत र सरसफाई गर्ने काम भइरहेको छ । भुटानी शिविर समेत रहेको सो क्षेत्रमा पुरानो बाटोहरु खोल्ने काम भइरहेको उनको भनाई छ । पार्क मर्मतमा सो क्षेत्रमा बसोबास गरी तेस्रो मुलुक गएका भुटानी शरणार्थीहरुले सहयोग गरिरहेका छन् ।
पार्कलाई सौन्दर्य बनाउने, निशुल्क इन्टरनेटको सुविधा दिने लगायतका योजना अघि सारिएको अध्यक्ष लिम्बुले जानकारी दिए ।
३ करोडभन्दा धेरै लगानी भएको सो पार्क निर्माण भएको १० वर्ष हुँदा पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । कतिपय संरचना निर्माणका लागि आएका बजेट पूर्ण रुपमा खर्च नभएको उनको भनाई छ । यसअघि भएका काममा खर्च नगरिएको बजेटको हिसाव बुझाउन सम्बन्धित व्यक्तिहरुलाई पत्राचार गर्ने निर्णय समेत गरिएको लिम्बुले जानकारी दिएका छन् ।
नेत्र पार्क २१ हेक्टरमा फैलिएको छ भने वन क्षेत्र ५९४ हेक्टरमा फैलिएको छ । पार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । सँगै, स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको छ । पार्कभित्र डाइनोसर समेत राखिएको छ । पोखरी पातपतिङगरले पुरिएको छ । डाइनोसर प्रयोग गर्नै नमिल्ने गरी बिग्रिसकेको छ ।







प्रतिक्रिया