बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आयोजित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या प्रगति टोलले जितेको छ ।

वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा गौरीनारायण टोललाई १–० गोल अन्तरले पराजित गर्दै पञ्चकन्याले उपाधि हात पारेको हो । पञ्चकन्याका जर्सी नम्बर १९ का खेलाडी अभियान ढुंगेलले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
प्रतियोगिताका विजेताले नगद १५ हजार रुपैयाँ तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन् । विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र आयोजक समितिका अध्यक्ष सुदर्शन रोकाले पुरस्कार वितरण गर्नुभयो ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी विशन नेम्बाङ, उत्कृष्ट गोलकिपर साहिल पोख्रेल र सर्वाधिक गोलकर्ता सिद्धार्थ वेस्राले जनही नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
शनिवार बिहानदेखि सुरु भएको प्रतियोगितामा वडा भित्रका विभिन्न टोलबाट १५ वर्षमुनिका खेलाडी समावेश भएका ११ वटा टिमको सहभागिता रहेको थियो । वडा खेलकुद विकास समितिमार्फत आगामी केही दिनभित्र ब्याडमिन्टन, क्रिकेटलगायतका अन्य खेल प्रतियोगिताहरू पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।







प्रतिक्रिया