झापा । सरकारले १० वर्ष उमेर समूहका ३ लाख किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी ३ लाख किशोरीमा खोप लगाउने निर्णय भएको जनाएको छ । महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले कक्षा ६ मा पढ्ने १० वर्षका किशोरीहरूलाई खोप लगाउने निर्णय भएको जनाए । माघको अन्तिमदेखि विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
‘यस वर्षदेखि एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप तालिका अन्तर्गत राख्ने निर्णय भएको छ। ६ कक्षामा पढ्ने १० वर्ष उमेर समूहका किशोरीहरूले खोप लगाउन सक्ने छन् । अब एचपीभी खोप समेत जोडेर ११ प्रकारका खोप राष्ट्रिय खोप तालिका अन्तर्गत दिन्छौँ,’ उनले भने ।
महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरबाट बचाउन सरकारले गतवर्ष १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीहरूमा एचपीभी खोप लगाएको थियो । यस वर्षदेखि भने राष्ट्रिय खोप तालिकामा राखेर खोप लगाउने निर्णय भएको महाशाखाले जनाएको छ ।
ह्युमन पापिलोमा भाइरसका कारण लाग्ने पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने अनुमान गरिन्छ । डा. महिलाहरूमा हुने क्यान्सरको मृत्युको कारण मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको तथ्यांकले देखाएको गौतमले बताए ।
महिलाहरूमा क्यान्सरको जोखिम बढेपछि रोकथामका लागि राष्ट्रिय खोप तालिकामा राखिएको डा गौतमले जनाए । यौन सम्पर्कबाट सर्ने यस भाइरस शरीरमा प्रवेश गरेपछि तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्त अल्पता हुने र कमजोर महसुस हुने जस्ता लक्षण देखिने गरेको छ ।







प्रतिक्रिया