Banner news

गरिबको अन्तिम संस्कारमा सहारा बनेका वडाध्यक्ष दिलिप भण्डारी

गरिबको अन्तिम संस्कारमा सहारा बनेका वडाध्यक्ष दिलिप भण्डारी


मनकुमार गदाल
दमक । झापाको गौरादह नगरपालिकामा एक जना वडाअध्यक्षले गरीव विपन्न परिवारमा निशुल्क शववाहनको सहयोग उपलब्ध गराउदै आएका छन् ।

उनको त्यो सहयोगलाई स्थानीयले मानवीयताको उदाहरणको रुपमा प्रस्तुत गर्दै आएका छन् । वडा नं. ३ का वडाअध्यक्ष दिलिप भण्डारीले आफ्नै निजी सवारी साधनलाई निःशुल्क शववाहनका रूपमा प्रयोग गर्दै विपन्न तथा गरिब परिवारलाई अन्तिम संस्कारमा सहयोग गर्दै आएका छन् ।

गौरादह–३ धोविनियाँ टोलकी कलुवा कर्मकारका अनुसार उनका श्रीमान् ७३ वर्षीय अभिलास कर्मकारको गत पुस २ गते निधन भएपछि दाहसंस्कारका लागि वडाअध्यक्ष भण्डारी स्वयं गाडी चलाएर शव कृष्णेघाट पु¥याई सबै प्रक्रियामा सहयोग गरेका थिए । “जनमन गरेर खाने हामीजस्ता गरिबका लागि वडाअध्यक्ष भण्डारी भगवान् सरह हुनुहुन्छ,” काजकिरियामा बसेकी कर्मकारले भनिन् । आर्थिक अभावका कारण हिन्दु परम्पराअनुसार १३ दिने काजकिरिया कसरी सम्पन्न गर्ने भन्ने चिन्ता रहेको उनले सुनाइन् ।

यस्तै, गौरादह–३ नव टोलकी लक्ष्मी हेमरुम (सन्थाल) ले पनि श्रीमान् जगत हेमरम र छोराको केही महिना अघि जन्डिसका कारण निधन हुँदा वडाअध्यक्ष भण्डारीले शव दाहसंस्कारका लागि निःशुल्क गाडी उपलब्ध गराई आर्थिक सहयोगसमेत गरेको बताइन् । “उहाँको सहयोग नभएको भए दैनिक गुजारा गर्नै गाह्रो हुन्थ्यो,” उनले भनिन् ।

स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित वडाअध्यक्ष भण्डारीले निर्वाचनका क्रममा गरेको प्रतिबद्धताअनुसार आफ्नो निजी मे १ च ४५१८ नम्बरको छोटा हात्ती गाडीलाई शववाहनका रूपमा प्रयोग गर्दै आएका छन् । उनले भने, “वडाभित्र बसोबास गर्ने विपन्न तथा गरिब जसले मागे पनि निःशुल्क सेवा दिने गरेको छु । आफू फुर्सदमा हुँदा आफैं गाडी चलाउँछु, नभ्याउँदा चालकको व्यवस्था गरेर पनि सेवा निरन्तर दिँदै आएको छु ।”

उनका अनुसार गत मंसिरसम्म ३ दर्जनभन्दा बढी शव घाटसम्म पु¥याइसकिएको छ । सुरुमा वडा नं. ३ भित्र सिमित सेवा अहिले गौरादह नगरपालिकाका अन्य वडासम्म विस्तार भएको छ । वडा सदस्य हेमनाथ थापाका अनुसार सोलमारीको कृष्णेघाट, गोपेश्वर कृष्णेगंगा घाट, गौरीघाट, जनजाति समुदायको समाधिस्थल केर्खा, दमक अस्पतालबाट पोस्टमार्टमपछि शव ल्याउने कार्यसमेत निःशुल्क भइरहेको छ ।

गौरादह–२ धिमधिमे टोलका यामबहादुर विश्वकर्माको निधनपछि दाहसंस्कारका लागि निःशुल्क शववाहन उपलब्ध गराइएको भन्दै उनका आफन्त सोम पोर्तेलले वडाअध्यक्ष भण्डारीको प्रशंसा गरे । “उहाँ बिना भेदभाव सबैलाई सहयोग गर्नुहुन्छ,” उनले भने ।

गौरादह–३ जामबाडी टोलकी मिरा बस्नेतले पनि दुःखको घडीमा वडाअध्यक्ष भण्डारी सारथी बनेको बताइन् । उनका अनुसार गत साउन २५ गते सासु ९३ वर्षीया तुलसा देवी बस्नेतको निधनपछि खबर पाउनेबित्तिकै वडाअध्यक्ष स्वयं शववाहन लिएर दाहसंस्कारमा सहयोग गर्न पुगेका थिए ।

गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीले वडाअध्यक्ष भण्डारीले गरिब तथा दुःखी परिवारको शव घाटसम्म पु¥याउने कार्य अत्यन्तै सराहनीय रहेको प्रतिक्रिया दिइन् ।

शेयर गर्नुहोस :

13.8k
Shares